शेरबहादुर सार्की
बाजुरा, फागुन २८ गते । बाजुराका अधिकांश गाउँबस्तीका घरका ढोकामा पछिल्लो समय ताला झुण्डिएको देखिन थालेको छ। गाउँमै जीविकोपार्जन गर्ने उपाय नहुँदा यहाँका अधिकांश स्थानीय रोजगारीको खोजीमा भारतका विभिन्न सहरमा जाने गरेका छन्। परिवारसहित भारत जाने क्रम बढेपछि गाउँका धेरै घर बन्द भएका छन्।
बाजुराको बुढीगङ्गा नगरपालिका–१० बदेडाका स्थानीय कालु सार्कीले गाउँमा कामको अवसर नपाएपछि घर बन्द गरेर परिवारसहित भारत आएको बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँमा बस्न घर बनाए पनि त्यसको ऋण तिर्न परिवारसहित भारत आउनुपरेको हो।”
उहाँका अनुसार भारत आएको झण्डै एक वर्ष भइसकेको छ र घर बनाउँदा लागेको ऋण तिरेपछि मात्र घर फर्किने योजना रहेको छ।
यो समस्या कालु सार्कीको मात्र नभई जिल्लाका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, गौमुल, बडीमालिका, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका धेरै स्थानीयको साझा पीडा बनेको छ। यहाँका अधिकांश परिवार लामो समयदेखि भारतको रोजगारीकै भरमा गुजारा चलाइरहेका छन्।
युवाहरू रोजगारीको खोजीमा बाहिरिन थालेपछि गाउँहरू युवा–विहीन बन्दै गएका छन्। निर्वाचनका बेला केही युवा गाउँ फर्किए पनि चुनाव सकिएपछि पुनः कामको खोजीमा भारत जाने क्रम जारी रहेको स्थानीय बताउँछन्।
यसरी जनशक्ति बाहिरिन थालेपछि गाउँका धेरै घर खाली भएका छन् भने खेतबारीसमेत बाँझो रहन थालेका छन्। सिँचाइको अभाव, खेतीपातीमा पर्याप्त आम्दानी नहुनु तथा लगाएको बाली जङ्गली जनावरले नष्ट गर्ने समस्याले पनि स्थानीयलाई विदेशिन बाध्य बनाएको छ।
स्थानीय सरकारले कृषि उत्पादनलाई प्राथमिकतामा राखेको बताए पनि गाउँमा युवाका लागि रोजगारीमूलक कार्यक्रम नहुँदा विदेशिने क्रम बढेको स्थानीय मानबहादुर सार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँमै केही गरौँ भनेर पसल खोलेको छु, तर रोजगारी नभएकाले धेरै सामान उधारोमै जान्छ।” अब पसल बन्द गरेर आफू पनि विदेश जाने तयारीमा रहेको उहाँले बताउनुभयो।