• ८ जेठ २०८१, मङ्गलबार

पोखरा–जोमसोम उडान ठप्प

blog

म्याग्दी, साउन ४ गते । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि बन्द भएको पोखरा–जोमसोम उडान अझै सञ्चालन हुन सकेको छैन । दुर्गम क्षेत्रमा सेवा दिँदै आएको निजी वायुसेवा कम्पनी तारा एयरले अघोषित रुपमा सेवा बन्द गरेपछि उठान ठप्प भएको छ । 

नेपालका दुर्गम क्षेत्रमा उडान सेवा दिने तारा एयर मात्र छ । सीता एयर, समिट र नेपाल एयरले पनि सेवा दिने गरे पनि जहाज कम भएकाले जोमसोम उडान गर्न सकेको छैन । हवाइ सेवा प्रदायक कम्पनीले पोखरा–जोमसोम नियमित उडान जेठ १५ गते देखि नै बन्द गरेका हुन् । 

बेनी–जोमसोम सडक खण्डमा वर्षाको समयमा जोखिम तथा सडक पनि जोखिमयुक्त हुने भएकाले हवाइ यातायात सुरक्षित मानिने भए पनि हवाइ सेवा प्रदायकहरुले उडान नगर्दा मुस्ताङका सर्वसाधारणहरु मर्कामा पर्ने गरेका छन् ।

गएको जेठ १५ गते विमान दुर्घटनापछि साउन ३ गते सम्म ४८ दिनको अवधिमा दुई दिनमा ९ उडान भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले बताउनुभयो । दुर्घटनामा परेको तारा यएरले पछिल्ले पटक पोखरा–जोमसोम रूटको उडान तालिका नै हटाएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

सिजनको समयमा पोखरा–जोमसोम रूटमा दैनिक १५ देखि १८ वटासम्म उडान हुने गरेको थियो । सामान्य अवस्थामा पनि दैनिक तीन उडान हुने गर्दथे । चिसोको समयमा भने केही समय उडान रोकिन्थ्यो । चिसोमा मुस्ताङकै बासिन्दा पनि चिसो छल्नका लागि अन्यत्र जाने हुँदा मुस्ताङ सुनसान हुने भएकाले त्यो समय भने उडान स्थगित हुने गरेको थियो । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निजी क्षेत्रका बिमान कम्पनीहरुले आफ्नो व्यापारिक हिसाबले पायक पर्ने क्षेत्रतर्फ ध्यान दिएर मुस्ताङ उडान नगरेको हुनसक्ने बताउनुभयो । हवाइ मार्ग रोकिँदा हवाइ मार्गबाट आउन पर्यटकहरुको सङ्ख्यामा कमिीआएको मुक्तिनाथस्थित होटल अन्नपूर्ण इनका सञ्चालक अमृत सुवेदीको भनाइ छ । 

Author

अमृतप्रसाद पौडेल