सुर्खेत समाचारदाता
सुर्खेत, फागुन १८ गते । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले नयाँ जति सबै राम्रा र पुराना जति सबै खराब नहुने बताउनुभएको छ । उहाँले अहिले राजनीतिमा नयाँ मात्र राम्रा र पुराना खराब भन्ने भाष्य हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नयाँले मात्रै समाधान दिन नसक्नेसमेत स्पष्ट पार्नुभयो ।
सुर्खेतमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले २०६४ सालमा सबैले माओवादीलाई नयाँ पार्टी भने पनि केही गर्न नसकेको उदाहरण दिँदै भन्नुभयो, “त्यसैले नयाँ राम्रा र पुराना खराब हँुदैनन् ।” उहाँले कांग्रेस देशकै पुरानो पार्टी भए पनि विशेष महाधिवेशनबाट नयाँ भएर आएकाले सबैभन्दा नयाँ कांग्रेस भएको दाबी गर्नुभयो ।
उपसभापति शर्माले जेनजी पुस्ताको आवाजलाई अझै पनि सम्बोधन नगरिए अबको १० वर्षपछि जेन अल्फा पुस्ताले अर्को आन्दोलन गर्न सक्ने औँल्याउनुभयो । अहिले जेनजी पुस्ताको माग र चाहना पूरा गर्नुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय सबै दल मिलेर देश बनाउनुपर्ने हुँदा कसैलाई पनि गाली गर्न आवश्यक नभएको उहाँले बताउनुभयो । आगामी सरकारको समन्वयकर्ता भनेर कांग्रेस सभापति गगन थापालाई अगाडि सारिएको र त्यसमा सबै दलको सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा उपसभापति शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कांग्रेस प्रवेश गरेका युवालाई सदस्यता प्रदान गर्नुभयो । उहाँले रास्वपा कर्णाली प्रदेश संस्थापक महामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य चन्द्रकला विक र राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेतलाई पार्टी सदस्यता प्रदान गर्नुभयो । उहाँले अहिले देशभर कांग्रेस प्रवेश गर्नेको आकर्षण बढ्दै गएकाले प्रवेश गरेका साथीलाई पार्टीले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । प्रवेश गरेका रास्वपाका संस्थापक प्रदेश महामन्त्री विक र जिल्ला कार्यवाहक सभापति बस्नेतले पार्टीभित्र आर्थिक चलखेल बढ्दै गएको, कार्यकर्ताको मनोभावना बुझ्न नसकेको भन्दै परित्याग गरेर कांग्रेस प्रवेश गरेको बताउनुभयो ।