स्वच्छ निर्वाचनका लागि आयोग कटिबद्ध
काठमाडौँ, फागुन १७ गते । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसले विभिन्न स्थानमा आचारसंहिता उल्लंघन भएको विषयमा आइतबार आयोगको कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेको नेतृत्वमा गएको टोलीले चारबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
पत्रमा राजनीतिक दलहरूले भौतिक निर्वाचन चिह्नको दुरुपयोग गरेको, निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको, राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी निर्देशन विपरीत कार्य गरेको र सामाजिक सञ्जालमार्फत मिथ्या सूचना सम्प्रेषण गरी जनमत प्रभावित पार्न खोजेको उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालसम्म ११ सयभन्दा बढी आचारसंहिता उल्लंघनका उजुरी परेको र आयोगले प्रमाण संकलन गरिरहेको बताउनुभयो । उहाँले विभिन्न ठाउँमा रकमसमेत बाँडिएको पाइएकाले अध्ययन गरी कारबाही गरिने जानकारी दिनुभयो ।
भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा आयोग संवेदनशील रहेको बताउँदै कांग्रेसको ध्यानाकर्षणप्रति आभार व्यक्त गर्नुभयो । उहाँले स्वच्छ निर्वाचनका लागि आयोग कटिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।
कांग्रेसले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता पालना गराउन माग गरेको छ ।
टोलीमा प्रवक्ता चालिसेसँगै केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी, कांग्रेस युवा नेता मनोजमणि आचार्य, केन्द्रीय कार्यालयका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलाल र मिडिया सेन्टरका संयोजक जीवन भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।