केशव राज भट्ट
वाशुलिङ, बैतडी, फागुन १७ गते । अगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीका दूरदराजका बस्तीमा दलहरूले घरदैलो अभियान तीव्र पारेका छन्। चुनावी प्रचारको समय घट्दो र जिल्लाको भौगोलिक बनावट विकट भएकाले उम्मेदवार तथा दलका नेता बिहानैदेखि बेलुकासम्म मतदातासँग भेटघाटमा जुटेका छन्।
जिल्लामा सक्रिय प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाका सबै स्थानीय तहका बस्तीमा प्रचार कार्यक्रम सम्पन्न गरेको बताएका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले आफ्ना चुनावी प्रतिबद्धता प्रस्तुत गर्नुका साथै मतदाताका सुझाव र गुनासा सुन्ने कामलाई प्राथमिकतामा राखेका छन्। कांग्रेसका नेताहरुका अनुसार, “जिल्लाका सबै बस्तीमा पुगेर मतदाता भेट्ने, आफ्ना कुरा राख्ने र उनीहरूका समस्या सुन्ने कार्य भइरहेको छ।’’
यसैबिच गाउँ–टोलमा चुनावी बहस चुलिएको छ। मतदाताले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता विषयमा आफ्ना अपेक्षाहरू स्पष्ट रूपमा नेतासमक्ष राखिरहेका छन्। प्रचारप्रसारको समय सीमित भएकाले घरदैलो अभियान तीव्र पार्नुपर्ने आवश्यक रहेको नेताहरूको भनाइ छ।
नेपाली कांग्रेसले सबै स्थानीय तहमा प्रचारप्रसार सम्पन्न गरेको जनाउँदै आज पर्चौडी नगरपालिकामा आमसभा आयोजना गर्ने जानकारी दिएको छ। अन्य दलहरूले पनि विभिन्न स्थानमा सभा, भेटघाट तथा कोणसभा गरी मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
ग्रामीण क्षेत्रमा बढ्दो चुनावी सक्रियतासँगै बैतडीमा यसपटकको निर्वाचनमा मतदाताको उत्साह उल्लेख्य देखिएको छ।