प्रकाशविक्रम शाह/एकिन्द्र तिमिल्सेना
धनगढी, फागुन १६ गते । यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका प्रायः उम्मेदवारले भारतको तिकुनियादेखि चीनको तिब्बतसँग जोड्ने लोकमार्गदेखि ठुला विद्युत् आयोजना बनाउने राष्ट्रिय महत्वका योजनालाई चुनावी प्रतिबद्धतामा समेटेका छन् ।
मुख्य दलका घोषणापत्रमा सेती र महाकाली लोकमार्गमार्फत सुदूरपश्चिम प्रदेशका तराई, पहाड र हिमाली सीमानाका जोड्ने परिकल्पना देखिन्छन् । उनीहरूले कैलाली र कञ्चनपुरलाई बझाङको उरैभन्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट नाकासित जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेती र महाकाली लोकमार्ग निर्माण सुरु भएको १७ वर्ष पुगिसकेको छ । यी दुई सडक सञ्चालनमा आएपछि समग्र सुदूरपश्चिम प्रदेशको विकासमा गतिलो इँटा थपिने अपेक्षासमेत गरिएको छ ।
राजनीतिक दल मात्रै नभएर उद्योग वाणिज्य सङ्घ, निर्माण व्यवसायी सङ्घ, पर्यटन क्षेत्रका सङ्घ संस्थालगायत निजी क्षेत्रले पनि हरेक सानाठुला मञ्चमा सेती र महाकाली लोकमार्ग निर्माणको बहस गर्दै आएका छन् तर अहिलेसम्म यी दुवै लोकमार्ग निर्माणको गति सुस्त छ ।
महाकाली लोकमार्ग ४१७ र सेती लोकमार्ग ३५९ किलोमिटर लामो रहेका छन् । आसन्न निर्वाचनमा प्रायः ठुला दलका उम्मेदवारले यी दुवै सडक निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर ४ का उम्मेवार लेखराज भट्ट सेती लोकमार्गको छिटो निर्माणलाई आफूले प्राथमिकतामा राखेको बताउनुहुन्छ । दुई लोकमार्गलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को घोषणापत्रमा पनि समेटिएको छ । आफू त्यसको कार्यान्वयनका लागि लाग्ने डोटीबाट नेकपाका उम्मेदवार रहनुभएका त्रिलोचन भट्टले बताउनुभयो ।
अछाम क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँरले सेती लोकमार्गलाई प्राथमिकतामा राख्नुभएको छ । कैलाली, डोटी, अछाम, बाजुरा हुँदै बझाङसम्मको सेती लोकमार्गको निर्माणले आर्थिक विकासको गतिसमेत वृद्धि गर्ने उहाँको विश्वास छ ।
कैलाली क्षेत्र नम्बर ४ का एमालेका उम्मेवार भट्ट, कैलालीकै क्षेत्र नम्बर ५ का नेकपाका प्रेम आलेमगर, डोटीका नेपाली कांग्रेसका भरतबहादुर खड्का र डोटीकै नेकपाका त्रिलोचन भट्टले धनगढी, खुटिया, दिपायल सुरुङमार्गसहितको ९२ किलोमिटरको फास्ट ट्र्याक सडकलाई महत्वका साथ आआफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नुभएको छ । धनगढी दिपायल, उरैभन्ज्याङ द्रुतमार्ग निर्माण जारी रहे पनि बजेट अभावका कारण तीव्र गतिमा काम अघि नबढेको डोटीबाट कांग्रेसका उम्मेदवार रहनुभएका खड्काले बताउनुभयो ।
प्रायः उम्मेदवारले मुख्य रूपमा महाकाली, सेती र कर्णाली नदी प्रणाली सुदूरपश्चिमको ऊर्जा मेरुदण्ड मान्दै तिनको निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । ती नदीबाट १० देखि १२ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना मात्रै छ हजार ४८० मेगावाट उत्पादन गर्ने प्रारम्भिक अनुमान छ । दशकौँदेखि चर्चामा रहेको पश्चिमसेती ७५० मेगावाटको निकै आकर्षक योजना मानिएको छ । एकीकृत महाकाली सम्झौता अन्तर्गत पञ्चेश्वर जलविद्युत् आयोजना अगाडि बढाउने भनिएको करिब तीन दशक बितिसकेको छ । कांग्रेसको घोषणापत्रमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय हितको अधिकतम रक्षा गर्दै प्राविधिक र राजनीतिक सहमतिमार्फत कार्यान्वयनमा लैजान गम्भीर पहल गर्ने, आवश्यक परे सरकारबाट ‘भाएबिलिटी ग्याप फन्डिङ’ उपलब्ध गराउँदै वेतन, कर्णाली, सेती जस्ता अर्धजलाशययुक्त आयोजनाको निर्माण प्राथमिकताका साथ सुरु गर्ने जनाइएको छ ।
कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाह पनि देशकै लागि ‘गेम चेन्जर’ हुने एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. दीपकप्रकाश भट्ट बताउनुहुन्छ । उहाँले कैलालीको गेटामा घोषणा गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने विषय घोषणापत्रमा उल्लेख गर्नुभएको छ । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नेकपाको घोषणापत्रमा समेत समेटिएको छ ।
कैलालीका सबै दलका उम्मेदवारले कुनै पनि दलको घोषणापत्रमा नपरेको धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रतिबद्धता गर्नुभएको छ । पूर्वाधार विकासका सवालमा मुख्य तीन दलले विभिन्न विषय उठाएर मतदातालाई आकर्षित गर्न खोजेको पाइन्छ । घोषणापत्रमा कांग्रेसले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने, मदन भण्डारी राजमार्ग र उत्तर दक्षिण कोरिडोरको निर्माण सम्पन्न गर्ने, पूर्वपश्चिम रेलमार्गको निर्माण, हुलाकी राजमार्गका नयाँ सहरमा आधुनिक सुविधा विस्तार गर्ने जस्ता कुरा उठाएको छ । एमालेले पनि पूर्वपश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने, हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गका रूपमा विकास गर्ने उल्लेख गरेको छ । नेकपाले गड्डाचौकी–चिसापानी सडकखण्ड चार लेनको निर्माण गरिने उल्लेख गरेको छ ।
लाखौँ पर्यटकको सम्भावना
खप्तडको शान्त वातावरण, बडीमालिकाको धार्मिक महत्व, अपि–साइपालको हिमाली साहसिक यात्रा, शुक्लाफाँटाको वन्यजन्तु, घोडाघोडीताल, टीकापुर पार्क र कर्णाली चिसापानी क्षेत्र यी सबै मिलाएर सुदूरपश्चिम प्रदेशलाई बहुआयामिक पर्यटन केन्द्र बनाउनुपर्ने एमालेबाट बाजुराका उम्मेदवार लालबहादुर थापा बताउनुहुन्छ । निजी क्षेत्रका व्यवसायी थर्कबहादुर शाह पनि उचित पूर्वाधार, अन्तर्राष्ट्रिय प्रचार र निजी लगानी भए वार्षिक २० लाखभन्दा बढी पर्यटक भिœयाउन सकिने अनुमान गर्नुहुन्छ । कांग्रेसले सुदूरपश्चिमका संस्कृति अनुसार सांस्कृतिक राजधानी र पर्यटन सर्किट निर्माण गर्ने, थारू समुदायको उत्थान र विकास गर्ने कुरा उठाएर पर्यटक ल्याउने विषय समेटेको छ भने नेकपाले सुदूरपश्चिम प्रदेश धार्मिक तथा पर्यावरणीय पर्यटन र कृषि हब बनाइने धारणा राखेको छ ।
कृषिमा सुनौलो अवसर
सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर नेपालको अन्न भण्डार बन्न सक्ने क्षमता राख्छ भने पहाडी जिल्लामा फलफूल, आलु र जडीबुटी खेतीको ठुलो सम्भावना छ । कृषिविज्ञ यज्ञराज जोशी सुदूरपश्चिममा प्राङ्गारिक कृषि उत्पादन गरेर वार्षिक एक खर्बभन्दा बढी आम्दानी दिन सकिने दाबी गर्नुहुन्छ । कांग्रेसले महाकाली सिँचाइ आयोजनालाई कृषि प्रणालीसँग जोडेर समयमै सम्पन्न गर्ने, एमाले र नेकपाले राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजनालाई सम्पन्न गरिने विषय उल्लेख गरेर कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन् । रास्वपाले भने आफ्नो वाचापत्रमा सुदूपश्चिमका सवालमा नीतिगत सवाल मात्र उठाएको छ । कृषिकेन्द्रित उद्योगबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन र बेरोजगारी घटाउने एजेन्डा आफूले बोकेको डडेलधुराबाट रास्वपाका उम्मेदवार रहनुभएका डा. ताराप्रसाद जोशीले बताउनुभयो । चुनावमा राष्ट्रिय रूपमा प्रभाव पार्ने मुद्दा उठाएको बताउँदै आफ्नो दल सरकारमा गएपछि ती कुरा कार्यक्रममा समेटर अघि बढ्ने उहाँले बताउनुभयो ।