• १५ फागुन २०८२, शुक्रबार

बागलुङमा मगर एकता दिवस मनाइयो

blog

राष्ट्रिय मगर एकता दिवसको अवसरमा आयोजित र्‍यालीका सहभागिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन १५ गते । जिल्लाका मगर समुदायले शुक्रबार ४४ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायले सांस्कृतिक झाँकी प्रदर्शन गर्दै बागलुङ बजार परिक्रममा गर्नुका साथै विविध कार्यक्रमसहित मगर एकता दिवश मनाएका हुन् । 

लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन मगर एकता दिवसले महत्वपूर्ण भूमिका खेलेको नेपाल मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनले बताउनुभयो ।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते मगर दिवस मनाइँदै आईएको छ । सांस्कृतिक पर्वहरूले सामाजिक सद्भाव, आपसी सम्मान र समुदायबीच एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष पुनले बताउनुभयो । 

गण्डकी प्रदेशको स्याङजा, तनहुँ र बागलुङमा मगर समुदायको अधिक बसोबास रहेको छ । 

मगर एकता दिवसको अवसरमा मगर समदायको बाहुल्य रहेका निसीखोला र तमानखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् भने बडिगाड गाउँपालिका वडा नं. ३, ४ र ८ ले मगरको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई सम्मान गर्दै बिदा दिएका छन् ।