काठमाडौँ, फागुन १५ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक सम्पूर्ण तयारी र तथ्याङ्कीय व्यवस्थापन सम्पन्न गरेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन् । कुल मतदातामध्ये पुरुषको सङ्ख्या ९६ लाख ६३ हजार ३५८ र महिलाको सङ्ख्या ९२ लाख ४० हजार १३१ रहेको छ भने अन्य मतदाता २०० जना रहेका छन् ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । यसमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार रहेका छन् । राजनीतिक दलका तर्फबाट दुई हजार २६३ र स्वतन्त्रतर्फ एक हजार १४३ जनाले उम्मेदवारी दिएका छन् । त्यसै गरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल तीन हजार १३५ उम्मेदवार रहेका छन्, जसमा एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला रहेका छन् ।
उम्मेदवारहरूको समावेशी विवरणअनुसार सबैभन्दा बढी खस आर्य समूहबाट ३४.५० प्रतिशत उम्मेदवारी परेको छ । त्यसैगरी आदिवासी जनजाति २७.३० प्रतिशत, मधेसी २४.८७ प्रतिशत, दलित ६.७५ प्रतिशत, मुस्लिम ३.९९ प्रतिशत र थारु २.५८ प्रतिशत रहेका छन् । उमेरगत रूपमा प्रत्यक्षतर्फ ४० देखि ४९ वर्ष समूहका उम्मेदवारको सङ्ख्या सबैभन्दा बढी एक हजार ७७ रहेको छ ।
निर्वाचन सम्पन्न गर्न मुलुकभर १० हजार ५६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । साथै, एक लाख ४३ हजार अस्थायी मतदान स्थलको समेत व्यवस्था गरिएको छ । निर्वाचनलाई भयरहित बनाउन सात लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाल प्रहरी ७५ हजार ७८७, नेपाली सेना ७८ हजार ७२७ र निर्वाचन प्रहरी (म्यादी) एक लाख ४९ हजार ५० जना रहेका छन् ।

निर्वाचनमा दुई लाख ४५ हजार कर्मचारी खटिनेछन् भने ४२ ओटा पर्यवेक्षक संस्थाले अनुगमन गर्नेछन् । आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ६५ राजनीतिक दल र समानुपातिकतर्फ ६३ दल निर्वाचनमा सहभागी छन् ।