• १५ फागुन २०८२, शुक्रबार

निर्वाचन लक्षित गर्दै मदिरा बिक्री-वितरणमा रोक

blog

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी , फागुन १५ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा मदिरा बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरेको हो।

प्रशासनका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि फागुन १४ गते राति १२:०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम वा निर्वाचन नसकिएसम्मका लागि यो निषेध लागू रहनेछ। यस अवधिमा जिल्लाभरका होटल तथा रेष्टुरेन्ट, थोक तथा खुद्रा मदिरा पसल, सार्वजनिक स्थानहरूमा मदिराजन्य पदार्थको बिक्री-वितरण र सेवन गर्न पाइने छैन।

जिल्ला प्रशासन कार्यालयले सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई पनि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ। निर्वाचनको समयमा हुन सक्ने सम्भावित झडप र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकायबाट नियमित अनुगमन  समेत गरिने जनाइएको छ।

सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि प्रशासनले जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, होटल व्यवसायी तथा आम सर्वसाधारणलाई यो निर्णय कार्यान्वयनमा पूर्ण सहयोग गर्न आग्रह गरेको छ।

मदिराका कारण हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गरी निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु यो कदमको मुख्य उद्देश्य रहेको प्रशासनले प्रष्ट पारेको छ।