• १४ फागुन २०८२, बिहिबार

निर्वाचन सुरक्षासँगै मानवीय सेवामा नेपाली सेना

blog

शिवदेवी सदाको उद्धार गर्नै नेपाली सेना । तस्बिर : नेपाली सेना बरखगण

विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन १४ गते ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी जिल्लाका अति संवेदनशील तथा भारतसँग सीमा जोडिएका एकान्त मतदान स्थलहरुमा सुरक्षा व्यवस्थापन कडा पारिएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढास्थित अतिसंवेदनशील तथा एकान्त मतदानस्थलमा नेपाली सेनाको बरखगणले उच्च प्राथमिकताका साथ सुरक्षा गतिविधि सञ्चालन गरेको हो ।

सो क्षेत्रमा नेपाली सेनाले नियमित एरिया डोमिनेशन गस्ती, सुरक्षा निगरानी तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीसँगको समन्वयमा संयुक्त गस्ती योजना कार्यान्वयन गर्दै निर्वाचन सुरक्षालाई थप सुदृढ बनाएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।

चारैतर्फ कोशीको भंगालोले घेरिएको गोबरगाडा भारतसँग सिधै सीमा जोडिएको हुँदा अतिसंवेदनशील मतदानस्थलको सुचीमा परेकोले सोही अनुसारको सुरक्षा व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

यसैबिच, बुधबार मतदानस्थलमा गस्तीको क्रममा नेपाली सेनाको बरखगणको टोलीले खुट्टामा चोट लागेर घाइते अवस्थामा रहेका एक स्थानीय बालिकाको उद्धार गरेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० इनर्वा निवासी शिवदेवी सदाको उद्धार गरेको हो । सेनाको पट्रोलिङ्ग टोलीले घाइते अवस्थामा भेटिएकी सदाको उद्धार गर्दै आफ्नो बेशमा ल्याएर प्राथामिक उपचार गरी परिवारलाई बुझाएको प्रमुख सेनानी चन्दले बताउनुभयो ।