अर्जुन काफ्ले
स्याङ्जा, फागुन १४ गते । संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता दिएको छ ।
पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा १९ वर्षीय डेबिट पोख्रेल र छोरी १७ वर्षीया प्रियंका पोख्रेलले प्रशासन मार्फत नागरिकता पाउनुभएको हो । नेपाली आमा र विदेशी बाबु (भारत) बाट जन्मिएका दुई जनालाई यसअघि नागरिकता लिन कठिनाइ हुँदै आएको थियो ।
नेपाल नागरिकता चौथो संशोधन ऐन २०८२ र नेपाल नागरिकता चौथो संशोधन नियमवली २०८२ नेपाली नागरिक आमा र विदेशी नागरिक बाबु भई नेपाल जन्मेर नेपालमै बसेकालाई आंगीकृत नागरिकता जिल्लाबाटै पाउने ब्यवस्था गरेकाल जिल्लामै दाजु बहिनीले नागरिकता पाउनुभएको हो ।
कानुन नहुँदा २०६३ असार ३ गते डेबिट र २०६५ असार ३० जन्मनुभएका प्रियंकाले उमेर पुगे पनि नागरिकता पाउन सक्नुभएको थिएन् ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नेपाली महिला र विदेशी नागरिकबिच विवाह भई जन्मिएका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएपछि स्याङ्जाबाट पहिलोपटक नागरिकता वितरण गरेको बताउनुभयो । यसअघि गृह मन्त्रालयबाट यस्तो नागरिकता पाउने गरिएकोमा कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारी मार्फत अंगीकृत नागरिकता प्रदान गरिएको हो ।
आवश्यक कागजात पूरा गरेका र कानुनले तोकेको मापदण्डमा पर्ने अन्य व्यक्तिहरूले पनि अब अंगीकृत नागरिकता प्राप्त गर्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताउनुभयो ।
लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका युवा, युवतीलाई यो व्यवस्था राहत दिने सुवेदीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने बताएको छ ।