• १४ फागुन २०८२, बिहिबार

निर्वाचनमा सुरक्षाकर्मी घाइते भए उपचार खर्च सरकारले बेहोर्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १४ गते । सरकारले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च बेहोर्ने भएको छ । फागुन १२ गतेका मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको अवधिमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । 

गृहमन्त्री अर्यालले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छ जना अधिकृतको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । न्याय सेवा आयोगको सिफारिसबमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने र हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने ‘मोस्ट एक्सिलेन्ट अडर अफ दी ब्रिटिस इम्पायर’ उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । नेपाली सेनाका दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र दुई जना महासेनानीको सरुवा गर्ने निर्णय भएको छ । 

१६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने र नेपाललाई ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फरमेसन फर ट्याक्स पर्पोजेज’ को सदस्यता लिन स्वीकृत प्रदान गर्ने, बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयानुसार गठित यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने निर्णय भएको छ । नेपाल सरकारका सचिव डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पु¥याउनुभएको योगदानका लागि नेपाल सरकारका तर्फबाट धन्यवाद दिने निर्णय भएको छ । 

मन्त्रीको विदेश भ्रमण स्वीकृत 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ७० औँ सम्मेलनमा फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की आगामी चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने ‘२१ औँ इन्टरपोल एनिवल हेड्स अफ एनसिबी कन्फ्रेन्स’ मा सहभागी हुन स्वीकृति दिने, भारतमा हुने ‘राइसिना इन्साइथ फोरम २०२६ एफाइएफ’ विषयक कार्यक्रममा मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृत दिने निर्णय भएको छ । 

चीन सरकारको अनुदान सहयोगमा निर्माण स्तरोन्नति हुने कलङ्कीदेखि वसुन्धरासम्मको काठमाडौँ चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौता उल्लिखित विषयमा कर छुट दिने निर्णय भएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्मका लागि निरन्तरता दिने र सो समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय भएको छ । 

केराबारी–न्यु मस्र्याङ्दी (दराैँदी कोरिडोर) १३२ केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख÷पोल हटाउन स्वीकृति दिने निर्णय भएको छ । माथिल्लो जुनबेँसीखोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख/पोल हटाउन स्वीकृति दिने निर्णय भएको छ भने सेतीखोला जलविद्युत् आयोजनाको १३२ केभी विद्युत् प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख/पोल हटाउन स्वीकृति दिने निर्णय भएको छ ।

जेनजी परिषद् गठन 

सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । “जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबिच सम्झौता हुँदा जेनजी परिषद् गठन गर्ने भएको थियो । सम्झौतामा जेनजी परिषद् गठन गर्ने प्रावधान छ,” उहाँले भन्नुभयो, “अहिले जेनजी परिषद् गठन आदेश स्वीकृत गर्ने निर्णय भएको हो । यो परिषद्ले के के काम गर्छ भन्ने कुरा त्यही गठन आदेशमै विस्तृत रूपमा छ । जेनजी अभियन्ताले जुन मुद्दा उठाएर आन्दोलन गर्नुभएको थियो । ती मुद्दासँग सम्बन्धित रहेर काम गर्ने हो ।” अरू जेनजीको हकहितसँग सम्बन्धी विषयसँग सम्बन्धित भई काम गर्ने उहाँले बताउनुभयो ।