• १४ फागुन २०८२, बिहिबार

असिनाले ७० परिवारको हिउँदे बाली नष्ट

blog

असिना पानीले क्षति गरेको बाली ।

प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन १३ गते । गए राति दार्मा गाउँपालिका –५ मा परेको असिनाले स्थानीय ७० घरपरिवारको हिउँदे बाली पूर्णरूपमा नष्ट भएको छ । प्रभावित बालीमा गहुँ, गेडागुडी, तोरी, तरकारी र अन्य हिउँदे बाली छन् ।

वाद्नेकी सिता खड्काका अनुसार असिना अत्यन्त ठूलो परिमाणमा परेको थियो । केही सेकेन्डमै खेतहरूमा रहेको बाली नष्ट भएको छ । उहाँले भन्नुभयो, “हामीले महिनौं मेहनत गरेर रोपेका बाली अब खानयोग्य छैन । यसले हाम्रो वर्षभरिको आम्दानी पूर्णरूपमा नष्ट भएको छ ।”

दार्मा–५ का स्थानीय बासिन्दा र किसानहरू असिनापछि ठूलो आर्थिक क्षतिको सामना गरिरहेका छन् । वडा अध्यक्ष सुदिप केसीका अनुसार वडाका करिब ७० किसानको गहुँबालीमा क्षति पुगेको छ । उहाँले वाद्ने, उतिसेनी, जलजले र ढोलढुगा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो ।

दार्मा गाउँपालिकाले प्रभावित किसानको बाली क्षतिको अनुगमन गर्ने र आवश्यक परे राहत तथा बीमा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । स्थानीय प्रशासनले पनि असिनापछि प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । उतिसेनीका किसान सन्तोष केसीले भन्नुभयो, “पाक्नै लागेको बालीमा क्षति पुगेकाले सरकारले तत्काल राहतको व्यवस्था गर्नु पर्नेछ । राहतको व्यवस्था नभए दैनिकी टार्न गाह्रो हुनेछ ।”