• १३ फागुन २०८२, बुधबार

बागलुङ–२ का प्रलोपा उम्मेदवारले कांग्रेसलाई सघाउने

blog

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका पदमबहादुर कुँवरले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुहुँदै। तस्बिर सौजन्य : छविलाल पाण्डे ।

नवराज नेपाली

बागलुङ, फागुन १३ गते । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका पदमबहादुर कुँवरले उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ  ।  उहाँले बुधबार नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको हो  ।

उहाँले यस क्षेत्रमा प्रत्यक्ष उम्मेदवार पौडेल र समानुमातिक उम्मेदवार रेनुका काउचालाई समर्थन गरेको  बताउनुभयो  । उहाँले  अहिलेको निर्वाचन सामान्य नभएको भन्दै यसमा गम्भीर भएर लाग्नु पर्ने बताउनुभयो । आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको उहाँले  सुनाउनुभयो ।

कुँवरले भन्नुभयो , ‘मुलुक परिर्वतनका लागि दस वर्षे जनयुद्धमा होमिए तर अहिले नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जनयुद्धले सार्थकता पाउन सकेन । अर्को कुरा दस वर्षे महान् जनयुद्धमा थुप्रै सपनाहरू बाँडेर सत्ताको भर्‍याङ बनाएर जनतालाई धोका दिएका तमाम गद्दार नेताहरूलाई जनताले आफ्नो अमूल्य भोटमार्फत झापड हान्नु हुने छ ।’

नेपाली राजनीतिको फोहोरी खेलमा कम्युनिस्ट आन्दोलन खराब तरिकाले प्रस्तुत भएको कुँवरले आरोप लगाउनुभयो । नेपाली कांग्रेसले लामो समय राजनीतिमा इतिहास छोडेको भन्दै जनताले चाहेको परिवर्तनको पक्षमा गइरहेको हुँदा आफूले सहयोग गर्ने  उहाँको भनाइ छ ।

‘म धेरै खुसी त छैन, जनताको माझमा उम्मेदवार भएको मान्छे, जनताबाट निर्वाचित भएर देशको सेवा गरुँला भन्ने मेरो रहर र इच्छा  थियो तर त्यो परिस्थिति बनेन, त्यसैले गर्दा कांग्रेसकाको उम्मेदवारलाई सघाउने कुँवरले बताउनुभयो  ।