• १३ फागुन २०८२, बुधबार

एघार अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

blog

भद्रपुर (झापा), फागुन १३ गते । चालु आर्थिक वर्ष २०८२ र ८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । 

पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार आव २०८१ र ८२ को सोही अवधिको तुलनामा ६० करोड २० लाख १० हजारले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । 

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व छ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट  पाँच अर्ब ६३ करोड ४५ लाख ७३ हजार राजस्व सङ्कलन भएको छ ।

उक्त अवधिमा  पाँच अर्व ५३ करोड ४१ लाख मूल्य पर्ने ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी रु तीन अर्ब ८१ करोड २८ लाख मूल्य पर्ने ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ ।

त्यस्तै उक्त सात महिनाको अवधिमा  एक अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास,  ४३ करोड ५८ लाख मूल्य पर्ने चार हजार ७३६ किलोलिटर एटिएफ र रु ११ करोड ३० लाख मूल्य पर्ने एक हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।  रासस