विष्णुप्रसाद पोखरेल
दमक, फागुन १३ गते । निवर्तमान सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत आरोप र विभाजन फैलाउने शैली दीर्घकालीन राजनीति नहुने बताउनुभएको छ ।
झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका घिमिरेले संसदमा बोल्ने क्रममा माइक काटिने विषय सभामुखको व्यक्तिगत निर्णय नभई पूर्वनिर्धारित समयसीमा र नियमावली अनुसार हुने स्पष्ट पार्नुभयो । घिमिरेका अनुसार संसद सञ्चालनका क्रममा तोकिएको समय सकिएपछि माइक बन्द गरिने अभ्यास सामान्य प्रक्रिया भएको जनाउनुभयो ।
कतिपय दलका नेताले सभामुखको जिम्मेवारीमा रहँदा बेलाको प्रश्न उठाउन थालेपछि उहाँले सो कुरा बताउनुभएको हो । सभामुख, उपसभामुख वा बैठक सञ्चालन गरिरहेका अन्य सदस्यको पालामा पनि समय सकिँदा माइक बन्द हुनेगरेको छ, उहाँले भन्नुभयो ।
झापा क्षेत्र नं. २ मा रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसबाट सरिता प्रशाई, नेकपाबाट धर्मशिला चापागाई, राप्रपाबाट भद्रप्रसाद नेपाल उम्मेदवार रहनुभएको छ ।