• १३ फागुन २०८२, बुधबार

मतदाताको गुनासो : विगतका प्रतिबद्धता पूरा भएनन्

blog

सिरहा–१ का उम्मेदवारहरू घरदैलोमा व्यस्त । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, फागुन १३ गते ।
निर्वाचन नजिकिँदै जाँदा मतदातालाई आफ्नो पक्षमा आश्वस्त बनाउन घरदैलोमा पुगेका नयाँ र पुराना दलका उम्मेदवारसँग मतदाताले फरक किसिमका प्रश्न सोध्न थालेका छन्।

पटक–पटकका निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धताहरू किन पूरा भएनन् भन्ने प्रश्न मतदाताले पुराना दलका उम्मेदवारसँग गरिरहेका छन् भने नयाँ दलका उम्मेदवार पनि पुरानै जस्ता हुने हो कि भन्ने आशंका व्यक्त गरिरहेका छन्।

राजनीतिक परिवर्तनको चरण सकिएपछि पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास र भ्रष्टाचार नियन्त्रणमा किन प्रभावकारी काम हुन सकेन भन्ने प्रश्न मतदाताले उठाइरहेको सिरहा–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामचन्द्र यादवले बताउनुभयो।

उहाँले भन्नुभयो, “पुराना दलका उम्मेदवारहरू पटक–पटक निर्वाचित हुँदा पनि किन काम हुन सकेन भन्ने प्रश्न मतदाताले गरिरहेका छन्। आफू २०५६ र २०७० सालमा निर्वाचित भएपछि गरेका प्रतिबद्धता र कामहरूको विवरण मतदातालाई बुझाउनुपर्ने अवस्था आएको छ। मतदाताले प्रश्न गर्नुलाई मैले सकारात्मक रूपमा लिएको छु। पुराना दलका उम्मेदवारका लागि यो निर्वाचन सचिने अवसर पनि हो।”

२०७९ सालमा निर्वाचित सिरहा–१ का प्रतिनिधिसभा सदस्य रामशंकर यादवले आफूले तीन वर्ष मात्र काम गर्ने अवसर पाएकाले सबै प्रतिबद्धता पूरा गर्न नसके पनि संसदमा क्षेत्रका समस्याहरू उठाएको भन्दै मतदाताका प्रश्नको जवाफ दिनुपरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “मतदातासँग पूरा गर्न सकिने प्रतिबद्धता मात्र गर्नुपर्छ। अनावश्यक आश्वासनभन्दा ठोस कामको अपेक्षा मतदाताले गरेका छन्।”

यस क्षेत्रबाट नेपाली कांग्रेसबाट दुई पटक पदमनारायण चौधरी र एक पटक स्वर्गीय प्रदीप गिरी निर्वाचित भएकाले उनीहरूले प्रतिबद्धताअनुसार के–कस्ता काम गरे भन्ने प्रश्न मतदाताबाट आइरहेको नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीले बताउनुभयो।

उहाँले भन्नुभयो, “२०४६ सालपछि आठौँ पटक हुन लागेको निर्वाचनमा मतदाता निकै सचेत भएका छन्। मतदाताले कामको सूची नै दिन थालेका छन्।”

जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सत्यनारायण यादवका अनुसार यसपटकको निर्वाचनमा कृषि, शिक्षा, स्वास्थ्य र आवासका विषयमा विगतका प्रतिबद्धता पूरा नभएको भन्दै मतदाताले स्पष्ट जवाफ मागिरहेका छन्।

उहाँले भन्नुभयो, “मतदाताले ‘तपाईंले प्रतिबद्धता पूरा गर्ने ग्यारेन्टी के छ?’ भन्ने प्रश्न गरिरहेका छन्। यस्ता प्रश्नको स्पष्ट जवाफ दिँदै घरदैलो गर्नुपरेको छ।” मतदातामा आएको चेतनाले यसपटक सही मत प्रयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरीले विगतमा निर्वाचित उम्मेदवारका कमजोरीका कारण नयाँ उम्मेदवारप्रति पनि मतदातामा शंका देखिएको बताउनुभयो।

उहाँका अनुसार मतदाताले जो निर्वाचित भए पनि पछि फर्केर नआउने धारणा व्यक्त गर्ने गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बब्लु गुप्ताले मतदाताबाट राम्रो समर्थन पाए पनि पुराना प्रतिनिधिजस्तै काम नगर्न सचेत गराउने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस क्षेत्रका समस्याहरू सूचीकृत गरेर स्थानीय र राष्ट्रिय स्तरका प्रतिबद्धता स्पष्ट गर्नुपरेको छ। मतदातालाई भरोसा दिलाउन घरदैलोमा धेरै समय खर्च गर्नुपरेको छ।”

मानवअधिकारकर्मी राजकुमार राउतले मतदाताले पुराना र नयाँ उम्मेदवारबारे व्यापक छलफल गरेर मतदान गर्ने अवस्था देखिएकाले लोकतन्त्र मजबुत हुँदै गएको बताउनुभयो।

मुसहर समुदायका अगुवा तथा कानुन व्यवसायी रामसुफल सदायले यसपटक शिक्षा र चेतनाबाट टाढा मानिने मुसहर समुदाय पनि सचेत भएर मतदान गर्ने तयारीमा रहेको बताउनुभयो।

उहाँका अनुसार मतदाताले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, स्वदेशमै रोजगारी र भ्रष्टाचार अन्त्यसहितको सुशासनका पक्षमा मतदान गर्ने मनस्थिति बनाएका छन्।

सिरहा–१ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा देखिएको छ।

मतदाताका प्रश्नका कारण चुनावी परिणाम अनुमान गर्न कठिन भए पनि नयाँ पुस्ताको आकर्षणका कारण परिणाम सोचेभन्दा फरक आउन सक्ने नागरिक अगुवा दिनेशकुमार यादवको भनाइ छ। उहाँका अनुसार यसपटकको निर्वाचन जातीय ध्रुवीकरणभन्दा देशको निकास र विकासमा केन्द्रित देखिएको छ।