• १३ फागुन २०८२, बुधबार

कर्णालीमा प्रतिनिधिसभा निर्वाचन तयारी

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १३ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० वटै जिल्लामा निर्वाचन सामग्री सुरक्षित रूपमा वितरण भइसकेको छ। निर्वाचन आयोगले निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। कर्णाली प्रदेशका सबै जिल्ला निर्वाचन कार्यालयमा आवश्यक मतपत्र, मतपेटिका, मतदान अधिकृतका सामग्री तथा अन्य प्राविधिक सामग्री सुरक्षित रूपमा पुगेका छन्। सबै मतदान केन्द्रका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको र गुणस्तर सुनिश्चित गरी मतदान प्रक्रिया सहज तथा व्यवस्थित बनाउन आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।

निर्वाच आयोग कर्णाली प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले १० वटै जिल्लामा आवश्यक निर्वाचन समाग्री पुगि सकेको र निर्वाचनको आवश्यक तयारी गरिएको वताउनुभयो । उहाँले सुरक्षासहित निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।

यहाँका प्रदेशभर ९४१ मतदान स्थल र १ हजार १३७ मतदान केन्द्र निर्धारण गरिएको छ। प्रतिनिधिसभाका १२ सिटका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १३४ जना चुनावी मैदानमा छन्। यसपटक कर्णाली प्रदेशबाट कुल १० लाख ३७ हजार दुई सय ५० मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाइँका अनुसार विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेका थिए। यस वर्ष एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएसँगै कुल मतदाता सङ्ख्या १० लाख ३७ हजार दुई सय ५० पुगेको हो।

सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखिएको छ। संयुक्त सुरक्षा गस्ती, मतदान केन्द्रहरूको स्थलगत निरीक्षण तथा संवेदनशील क्षेत्रको पहिचान गरी आवश्यक रणनीति लागू गरिएको जनाइएको छ। जिल्ला–जिल्लामा निर्वाचन सामग्री तयारी, मतदानमा खटिने कर्मचारीलाई अभिमुखीकरण तथा सुरक्षा व्यवस्थापनका काम तीव्र रूपमा अघि बढाइएको छ।

सल्यानस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत प्रल्हादकुमार योगीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो।

निर्वाचन तयारी पूरा भइसकेको अवस्थामा आयोगले सबै मतदातालाई शान्तिपूर्ण तथा मर्यादित रूपमा मतदानमा सहभागी हुन आह्वान गरेको छ।