रमेश विश्वकर्मा
गुल्मी, फागुन १३ गते। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र गुल्मीमा आइपुगेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लाका लागि चार लाख ९९ हजार मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसका अनुसार दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ दुई लाख ४६ हजार र समानुपातिकतर्फ दुई लाख ५३ हजार मतपत्र यस जिल्लामा प्राप्त भएका छन्। नेपाली सेना र सशस्त्र प्रहरी बलको सुरक्षामा ल्याइएका मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर–२ को निर्वाचन अधिकृत कार्यालयमा सुरक्षा व्यवस्थासहित राखिएको उहाँले बताउनुभयो।
निर्वाचन क्षेत्र नम्बर–१ का लागि दुई लाख ६९ हजार मतपत्र आइपुगेको छ। जसमा प्रत्यक्षतर्फ एक लाख ३१ हजार र समानुपातिकतर्फ एक लाख ३८ हजार मतपत्र आइपुगेको हो। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ का लागि दुई लाख ३० हजार मतपत्र आइपुगेको छ। जसमा प्रत्यक्षतर्फ एक लाख १५ हजार र समानुपातिकतर्फ एक लाख १५ हजार मतपत्र आइपुगेको सूचना अधिकारी श्रीसले बताउनुभयो।
यस जिल्लामा आइपुगेका सबै मतपत्रलाई रुजु गरेर तयारी अवस्थामा राखिने बताइएको छ। मतदाताको सङ्ख्यालाई आधार मानी आवश्यकताभन्दा केही बढी मतपत्र जिल्लामा आएको हो। निर्वाचनका लागि आवश्यक पर्ने विभिन्न ३६ प्रकारका निर्वाचन सामग्री आइसकेका छन्। यस जिल्लामा दुई लाख २९ हजार ५४९ जना मतदाता रहेको उहाँले बताउनुभयो।
महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना मतदाता छन्। महिला ६२ हजार २७२ जना र पुरुष ५९ हजार ९१४ जना मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर– २ मा एक लाख सात हजार ३६३ जना मतदाता छन्। महिला ५२ हजार ९३८ जना, पुरुष ५४ हजार ४२३ जना र अन्य दुई जना मतदाता छन्। यस जिल्लामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र रहेका छन्।
जिल्ला कारागार गुल्मीमा एक अस्थायी मतदान केन्द्र रहेको छ। निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि संयुक्त सुरक्षा गस्तीलाई निकै तीव्र पारिएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न तीन तहको सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो। सबै सुरक्षा निकायहरु फिल्डमा परिचालन भइसकेको भन्दै उहाँले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभयो।