हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन १३ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, किमलिङमा हिउँ चितुवाले गोठमा छिरेर नौ वटा च्याङ्ग्रा मारेको छ । कृषक मिग्मा गुरूङको गोठमा प्रवेश गरेको चितुवाले नौ वटा च्याङ्ग्रा घाइते बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले जनाएको छ । कृषक गुरूङको करिब ६ लाख बराबरको क्षति भएको छ ।
आहाराको खोजीमा आएको चितुवा घाइते बनाएका सबै च्याङ्ग्रा जोगाउन सकिने अवस्थामा नरहेको एक्याप प्रमुख उमेश पौडेलले बताउनुभयो । एक्याप प्रमुख पौडेलले भन्नुभयो,‘‘सामान्य गोठ भएका कृषकको धेरै क्षति भएको छ, च्याङ्ग्रापालक कृषकले अब अनिवार्य सुधारिएको गोठ प्रयोग गर्नुपर्छ ।’’
सामान्य गोठमा चितुवालाई प्रवेश गर्न सजिलो हुने भए पनि सुधारिएका गोठहरू पुर्णरूपमा सुरक्षित हुने पौडेलको भनाइ छ । चितुवा गोठमा प्रवेश गरेमा अधिकांशलाई क्षति पुर्याउने गरेको छ । यस अगाडी लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, मा १८ वटा च्याङ्ग्रा हिउँ चितुवाले आक्रमण गरेर मारेको थियो । सामान्य गोठमा तारबारसहितको पर्खाल समेत हिउँ चितुवाले सजिलै नाघेर खोरभित्र पस्ने गरेको छ ।
चिसो मौसममा शिकार प्रजातिका वन्यजन्तु चरन क्षेत्रमा आहारा प्रजातिको जनावर नभेटिएपछि बस्ती आसपासका क्षेत्रमा प्रवेश गरी पशुचौपायालाई क्षती पुर्याउने गरेको छ । मङ्सिर, पुस र माघ महिनामा हिउँ चितुवा र तिब्बती व्यासाको आतङ्क थियो भने फागुन महिनामा समेत गोठमा निरन्तर चितुवाको आक्रमण हुन थालेपछि कृषक चिन्तित छन् ।
उच्च हिमाली क्षेत्रमा बासस्थान हुने हिउँ चितुवाले आफ्नो मुख्य आहार झारल, नाउर, मृग फेला नपारेपछि मानवबस्ती छेउमै आएर च्याङ्ग्रा, घोडा, याक, चौरीलगायत घरपालुवा जनावरलाई आहारा बनाउने गरेको छ । आधुनिक सुरक्षित गोठ निर्माणसम्बन्धी तालिमसहित विभिन्न सुरक्षाका उपायहरूका बारेमा जानकारी गराएपछि बन्यजन्तुको आक्रमणबाट मरेकालाई वर्षेनी क्षतिपूर्ती दिने गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३३ ‘क’ले दिएको अधिकार प्रयोग गरी वन्यजन्तु क्षति निर्देशिकाका आधारमा प्रहरी, संरक्षण व्यवस्थापन समिति र पशु भेटेरिनरी अस्पतालका पशु चिकित्सक लगाएको उपस्थिति क्षति लागत अनुमान गरी राहत वितरण गर्ने गरिन्छ ।
यसपटक सबैभन्दा बढी क्षति तल्लो मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फाका पशुपालक कृषक सन्तोष परियारको ३७ च्याङ्ग्रा चितुवाले मारेको थियो । आहाराको खोजीमा बस्तीभित्र रहेका च्याङ्ग्राको खोरमा निशाना बनाएर आउने हिउँचितुवाले साना कृषकको खोर नै रित्तो बनाउने गरेको छ ।