प्रवीणकुमार शर्मा
रौतहट, फागुन ८ गते । निर्वाचनको समयमा स्थानीय तस्करहरू चोरीछिपी काठ कटानीमा सक्रिय हुने गरेको भन्दै डिभिजन वन कार्यालय रौतहटले वन सुरक्षा गस्ती तीव्र बनाएको जनाएको छ । निर्वाचनका बेला सबैको ध्यान निर्वाचन गतिविधितर्फ केन्द्रित हुने अवस्थालाई मध्यनजर गर्दै वन क्षेत्रमा अहोरात्र गस्ती परिचालन गरिएको हो ।
विगतका घटनाअनुसार निर्वाचन अवधिमा वन माफियाले रातिको समयमा काठ निकासी गर्ने गरेको स्मरण गर्दै यसपालि सशस्त्र प्रहरी बलसमेतको संयुक्त वन गस्ती टोली परिचालन गरिएको डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।
वन फडानी र अतिक्रमणका कारण वन क्षेत्र घट्दै गएको तथा चोरी निकासी बढ्दा वन विनाश हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कार्ययोजना बनाएर वन संरक्षणमा लागिएको उहाँले बताउनुभयो ।
निर्वाचन अवधिमा काठ तस्करी नियन्त्रण गर्न जिल्ला सुरक्षा समितिको बैठकले विशेष सुरक्षा योजना बनाएको र सोहीअनुसार टोली परिचालन गरिएको अधिकृत साहले बताउनुभयो । काठ तस्करी, अवैध ढुवानीलगायत गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी गस्ती कडा पारिएको र रात्रीकालीन गस्तीसमेत सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
स्थानीयवासीलाई समेत अवैध गतिविधिबारे सूचना दिन आग्रह गरिएको छ । निर्वाचन अवधिभर कुनै कर्मचारीलाई बिदा नदिने निर्देशन दिइएको जनाउँदै डिभिजनल वन अधिकृत साहले रातिको समयमा वन क्षेत्रभित्र तीनवटा टोली मिलेर गस्ती गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । काठ तस्करहरूले आक्रमण गरेर भाग्न सक्ने सम्भावना भएकाले ठुलो संख्यामा टोली परिचालन गर्दा गस्ती प्रभावकारी हुने उहाँको दाबी छ ।
वन गस्ती प्रभावकारी बनाउन कर्मचारीको निगरानीका लागि समेत छुट्टै टोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । हालै वन रक्षक पदपूर्ति भई पाँचजना महिला वन रक्षक कार्यरत रहेको जनाउँदै उहाँले महिला वन रक्षकको उपस्थितिले वन क्षेत्रमा काठ तस्करीमा संलग्न महिलालाई समेत नियन्त्रणमा लिन सहज भएको बताउनुभयो ।
वन गस्ती तीव्र पारिएसँगै दैनिक रूपमा फाटफुट रूपमा साइकल तथा मोटरसाइकल नियन्त्रणमा लिने गरिएको उहाँले जानकारी दिनुभयो ।