मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, फागुन ८ गते । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि १४ दिन बाँकी रहेको छ । मकवानपुरको निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार आआफ्नो प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । आफ्ना चुनावी एजेन्डासहित मतदाता भेटघाट, प्रचारप्रसारलगायत गतिविधिमा उम्मेदवार सक्रिय छन् ।
नेकपा (एमाले) का रामेश्वर राना, नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमलगायत स्वतन्त्र उम्मेदवार पनि घरदैलो कार्यक्रममा व्यस्त देखिनुभएको छ । चुनावको समय जति नजिकिँदै छ, त्यति नै उम्मेदवारमा व्यस्तता बढ्दै गएको छ । हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा, बकैया र बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका चार वडासहित कुल ४० वडा रहेको यस निर्वाचन क्षेत्रमा राजनीतिक दलका १३ र १० स्वतन्त्र गरी कुल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । बिहीबार एमालेका उम्मेदवार रानाले हेटौंडा उपमहानगरपालिकाका ६ र १६ नं. वडाका मतदातासँग भेट गर्नुभएको छ । रानाले आफू जनताको सेवाका लागि उम्मेदवारी दिएको बताउँदै विकास, रोजगारी र पूर्वाधार निर्माण र कानुन निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै राप्रपाका उम्मेदवार सिंहले बिहीबार हेटौँडा–५ मा गई मतदातासँग साक्षात्कार गर्नुभएको छ । उहाँले घरदैलोका क्रममा सिंहले स्थानीय बासिन्दासँग भेटघाट गर्दै निर्यातमुखी अर्थतन्त्र, नीतिगत भ्रष्टाचार नियन्त्रण, शिक्षा प्रणालीमा राष्ट्र, धर्म संस्कृति संरक्षण, सरकारी विद्यालयको गुणस्तर सुधारलगायतका नीति बोकेर आफू चुनावमा होमिएको बताउनुभएको छ ।
“मकवानपुर–१ लाई समृद्ध र व्यवस्थित बनाउने लक्ष्यसहित म घरदैलोमा आएको छु,” उहाँले भन्नुभयो, “यसअघि पनि संसद्मा मैले जनताको आवाज बोलेको हुँ । जनताले दिएको विश्वासलाई परिणाममुखी काममार्फत पुष्टि गर्ने छु ।” उहाँ २०७९ को प्रतिनिधि सभा चुनावमा पनि विजय हुनुभएको थियो । यस्तै नेकपाका उम्मेदवार विजय गौतमले हेटौँडा–८ का मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्नुभएको छ । गौतमले आफू जनताको भरोसा नटुट्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “म पहिलो पटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन । जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन, फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु,” उहाँले भन्नुभयो ।
यसै गरी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले हेटौँडा–७ र ८ का मतदातासँग भेटघाट गर्नुभयो । उहाँ बिहीबार पार्टीका कार्यकर्ता र शुभचिन्तकसँग आन्तरिक भेटघाटमा व्यस्त रहनुभयो । महिलाको सहभागिता र निर्णायक भूमिकाका लागि आफू राज्यसँग पटक पटक लडेको उहाँले मतदातासमक्ष दाबी गर्नुभयो । उहाँले महिला मतदातालाई विशेष प्राथमिकतामा राखेर मत मागेको घरदैलो अभियानमा देखिन्थ्यो । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामालगायतका दल र स्वतन्त्र उम्मेदवार आफ्ना चुनावी एजेन्डासहित चुनावी अभियानमा लाग्नुभएको छ ।