• ८ फागुन २०८२, शुक्रबार

निर्वाचन सामग्री तनहुँ आइपुग्यो, तयारी तीव्र

blog

निर्वाचन कार्यालय तनहुँमा भण्डारण गरिएका निर्वाचन सामग्री । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन ८ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री तनहुँ आइपुगेको छ । निर्वाचन आयोगले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान सञ्चालनका लागि पठाएको मतपत्र, मतपेटिका, छाप, स्ट्याम्प प्याड, मतदाता नामावली लगायत सामग्री पठाएको हो ।

निर्वाचन कार्यालय तनहुँक सूचना अधिकारी दुर्गामाया आलेका अनुसार सामग्री प्राप्त भएसँगै जिल्लाभर वितरण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ । आवश्यक सामग्री क्रमशः मतदान केन्द्रहरूमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

जिल्लाभर कुल १४४ वटा मतदान स्थल र ३९० वटा मतदान केन्द्र रहेका छन् ।  सुरक्षा संवेदनशीलताका आधारमा ८ वटा केन्द्रलाई ‘अति संवेदनशील’, ५२ वटालाई ‘संवेदनशील’ र ८४ वटालाई ‘सामान्य’ सूचीमा राखिएको छ। विगतका घटनाक्रम, भौगोलिक दुरी, सडक पहुँच तथा पूर्वाधार अवस्थालाई आधार मानेर वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो ।

मतदान स्थलहरूमा आवश्यक मर्मतसम्भार, खानेपानी व्यवस्थापन तथा तारबारको काम सम्बन्धित वडाध्यक्षमार्फत भइरहेको छ । प्रमुख जिल्ला अधिकारी तिवारीले निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउँदै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रशासन पूर्ण सतर्क रहेको उल्लेख गर्नुभयो ।

प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले अति संवेदनशील तथा संवेदनशील केन्द्रहरूमा थप सुरक्षा बल परिचालन गरिने जानकारी दिनुभयो । तनहुँ क्षेत्र नं. १ मा १६ जना र क्षेत्र नं. २ मा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाभर दुई लाख ५४ हजार ३९७ मतदाता रहेका छन्। शान्तिपूर्ण, मर्यादित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ ।