कार्ल माक्र्सले भनेका थिए, “राजनीति वर्ग र सामाजिक प्रभुत्वसँग गाँसिएको छ ।” राज्य र राजनीतिलाई शासक वर्गको हित सुरक्षित गर्ने संयन्त्रका रूपमा अथ्र्याउँदै उनले भनेका छन्, “समाजमा उत्पन्न भइरहने वर्ग सङ्घर्ष, सामाजिक र राजनीतिक संरचना त्यसकै विम्ब हुन् । त्यही वर्गीय आधारमा समाज र राजनीतिबिचको सम्बन्धका आयाम जन्मिन्छन् ।” दार्शनिक जोन लकले समाज र राजनीतिको राजनीतिक सम्बन्धबारे भनेका छन्, “सामाजिक स्वीकृतिबाटै राजनीतिले वैधता पाउँछ...।”
नेपाली सन्दर्भमा महामानव बिपी कोइरालाले भनेका छन्, “नेपाली समाजको शक्ति भनेकै विविधता हो । यसलाई स्वीकार गरेर जनउत्तरदायित्वमा आधारित राजनीतिले मात्रै नेपाली समाज र यहाँका नागरिकलाई वास्तविक स्वतन्त्रता, राष्ट्रियता र सम्मानको प्रत्याभूत गराउँछ...।” समग्रमा समाज र राजनीति अलग तìव होइनन् । बरु एकअर्कामा अन्योन्याश्रित हुन् । कतिपय अवस्थामा राजनीति सामाजिक मूल्यमा आधारित हुन्छ भने कतिपय परिस्थितिमा राजनीतिक मूल्यमा सामाजिक संरचनाको स्वरूप निर्धारण हुन्छ । त्यसैले अहिले पनि राजनीतिको एउटा कुनै ठोस परिभाषा छैन । राजनीतिक दार्शनिक र विद्वान् राजनीति र समाजको यही मूल्य र सम्बन्धका आयामलाई ठोस रूपमा व्याख्या गर्न सकिरहेका छैनन् ।
वास्तविकता के हो भने समाजले राजनीतिक मूल्य निर्धारण गर्छ कि राजनीतिले सामाजिक मूल्य जन्माउँछ ? यो परिस्थितिलाई पनि ठ्याक्कै आकलन गर्न सकिँदैन । त्यो भनेको हाम्रो समाजिक संरचना कुन धरातलमा उभिएको छ भन्ने कुराले पनि निर्धारण गर्छ । समृद्धिको जगमा जागेको समाजमा राजनीति साध्य र साधन दुवै नरहन सक्छ । बरु त्यसले राजनीतिक दिशासमेत निर्धारण गर्न सक्छ । चेतना र स्वतन्त्रताको जग कमजोर भएको समाजमा राजनीति नै निर्णायक हुन्छ । राजनीतिले समाजलाई निर्देशित गर्छ कि समाजले राजनीतिलाई निर्देश गर्छ ? यो आफैँमा एउटा बहुआयामिक प्रश्न हो र यसको कुनै निश्चित जवाफ छैन । यस अर्थमा राजनीति भनेको गणितको सङ्गृहीत समाधान पनि होइन अनि समाज त्यसको अंशियार पनि होइन । यसका पनि सम्बन्धका अनेक आयाम छन् ।
जे होस् नेपाल फेरि एक पटक समाज र राजनीतिको त्यही प्रतिरोधात्मक अवस्थामा छ । अर्थात् चेतनाको विम्बमा अहिले नेपाली राजनीति र समाज एकअर्कामा परिक्षित हुन चाहिरहेका छन् । गत भदौ २३ मा भएको जेनजी विद्रोह, २४ मा भएको विध्वंस र त्यसपछि बिथोलिएको सामाजिक संरचना र राजनीतिक परिस्थिति त्यसकै उपज हो । फागुन २१ को निर्वाचन त्यसैलाई फैसला गर्ने एक अनिवार्य परीक्षा हो । एउटा त्यस्तो परीक्षा जहाँबाट यो राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आगामी पुस्ताको भविष्यको रेखासमेत कोरिने छ ।
नेपाल आफैँमा विविधताले भरिएको एक सामाजिक संरचना हो । बहुजातीय, बहुभाषीय, बहुधार्मिक अनि बहुसांस्कृतिक विविधताले अडिएको नेपाली समाजको सामाजिक संरचना भने राजनीतिक चरित्रमा निर्भर गर्छ । अर्थात् राजनीतिक संस्कृतिले यहाँको कतिपय सामाजिक संरचनाको निर्धारण गरेको छ ।
कुनै वैदेशिक उपनिवेश वा ‘गुलामी’ देखि टाढै रहे पनि नेपाली समाज सधैँ राजनीतिक परिस्थितिले थिचिइरह्यो । लामो समयसम्मको विभिन्न वंशको सामन्ती शासन, जहानियाँ शासन अनि दरबारबाट थिचिएको नेपाली समाजले पटक पटक लोकतन्त्रका नयाँ नयाँ अभ्यास गर्दै आयो । कतिपय अवस्थामा ती असफल भए कतिपय अवस्थामा ती विफल भएका छन् । एउटै वंशको सयौँ वर्षदेखिको शासनबाट मुक्त भए पनि दरबारिया प्रवृत्तिबाट अलग हुन अझ सयौँ वर्ष लाग्यो र पनि हाम्रो सामाजिक संरचनानको जग त्यही प्रवृत्तिका अवशेषमा अडिएको हो । केन्द्रीकृत प्रशासनिक संरचनाबाट प्रताडित नेपाली समाजले लामो समयपछि सङ्घीयताको अभ्यास त गर्दै छ तर त्यसको वास्तविक अनुभूत भने हुन सकेको छैन । किनकि हाम्रा नेतृत्वमा त्यही पुरातन शासकीय प्रवृत्ति हाबी भइरह्यो । व्यक्ति, परिवार अनि समुदायकेन्द्रित प्रवृत्ति मौलाउँदै त्यो राज्य र शासकीय प्रवृत्तिमा समेत प्रवेश ग¥यो, जसबाट नेपाल र नेपाली आफैँले छानेका प्रतिनिधिबाट नै पुनः शासित भइरहनुपर्ने विडम्बना छ । यो भनेको सामाजिक संरचना र यसका प्रवृत्तिप्रति राजनीति हाबी भएको हो । यो सामाजिक र राजनीतिक चरित्र आफैँमा एक सामाजिक राजनीतिक दर्शन पनि हो । जसलाई अहिलेसम्म संसारका कुनै पनि राजनीतिक दार्शनिक वा विद्वान्ले व्याख्या गर्न सकेकै छैनन् ।
यिनै राजनीतिक र सामाजिक उथलपुथल सँगसँगै नेपाल फेरि एक पटक इतिहासको कठघरामा उभिएको छ । हरेक दशकैपिच्छे हुने विद्रोहले यहाँका सामाजिक सोच, अनि राजनीतिक संरचनासमेत दिगो र स्थिर हुन सकेका छैनन् । गत भदौमा भएको नवपुस्ताको विद्रोहलाई पनि त्यसैसँग जोडेर हेर्न सकिन्छ । नयाँ नयाँ प्रविधि र प्रशोधनले यो सारा संसारलाई नै कसरी साँघुरो बनाउँदै लगेको छ भन्ने गतिलो उदाहरण नेपालका नवपुस्ता (जेनजी) ले पनि प्रस्तुत गरे । आफ्ना असन्तुष्टि, असन्तोष र आवेगलाई उनीहरूले सडकमा पोखे विद्रोहका रूपमा । त्यसले केही विध्वंस पक्कै भयो तथापि नेपाली समाजको चेतलाई परिवर्तन गर्ने दिशामा नवपुस्ताको त्यो विद्रोह इतिहासमा सधैँ मानक बनेर स्थापित हुने छ ।
नेपाली समाजको चेतनाको स्तर निकै परिपक्व हुन थालेको छ । हल्ला र लोकप्रियताको धरातल, त्यसको उपादेयता र परिणामबारे नेपाली समाज आफैँमा केही भए पनि विवेचना गर्न सक्ने भइसकेको छ । चेतनाको स्तरसँगै विवेचनाको प्रचुरताले नै समाजलाई समृद्ध बनाउँदै लैजान्छ । सामाजिक विकासको यो अनन्य मान्यता पनि पनि हो । तथापि नेपाली समाजमाथि अझै पनि राजनीतिका अवयव हाबी हुन खोजिरहेको परिस्थिति छ । यद्यपि नेपाली समाज इतिहासदेखि नै राजनीतिबाट डोरिँदै आएको हो । जसका कारण राजनीति र यसले ल्याएका परिवर्तनका लहरसँग समाजले लय मिलाउन खोज्यो । जब समाज र राजनीतिको लयमा तालमेल मिलेन अनि त्यसले विद्रोहका रूप धारण गरेको पाइन्छ । पटक पटक हुने विध्वंस विद्रोहका त्यही विस्फोटक रूप हुन् ।
राणा शासनपछिका करिब आठ दशक यस्तै यस्तै विद्रोहका चोट खेप्दै गुज्रिएका छन् र पनि देशको राजनीति र नेतृत्व ती चोटका बजारीकरण गर्न मात्रै उद्यत रह्यो । जहाँबाट चुनिएर आएको हो, उसप्रति सधैँ अनुग्रहित रह्यो । राज्य अनि शासक वर्गको बेवास्ताले फेरि एक पटक नेपाली समाज कुहिरोको काग जस्तै भयो । राजनीतिको त्यही कुहिरोरूपी पर्दा हटाउन नेपाली समाज पटक पटक विद्रोहको विस्फोटसम्म पुग्ने गर्छ । २०८२ भदौ २३ को विद्रोह स्वाभाविक थियो तर त्यसपछिको विध्वंस विवेकले किचिएको अनि विवेचना हराएको समाजको एक विम्ब हो, जहाँबाट नेपाली राजनीतिको एउटा कुरूप अनि भयानक तस्बिर हामी देख्न सक्छौँ ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन मात्रै परम्परामा आधारित लोकतन्त्रको सुन्दर अभ्यास मात्रै होइन । बरु यो त्यही लोकतन्त्रको समृद्धिलाई जनताको अनुभूतिसँग गाँस्ने एक ऐतिहासिक मोड पनि हुने छ । किनकि परम्परागत निर्वाचनभन्दा परिस्थितिले निम्त्याएको यो निर्वाचनका आफ्नै विशेषता छन् । यसले मात्रै सत्ता अनि शक्तिको विनिमय र बाँडफाँट मात्रै होइन बरु सामाजिक चरित्र, असन्तुष्टि, आकाङ्क्षा र अपेक्षालाई सम्बोधन गर्ने एक मिसालका रूपमा पनि स्थापित हुने छ । यो एउटा पुस्ताको विद्रोहले निम्त्याएको निर्वाचन हो । जुन पुस्ता अब देश निर्माणको बाटोमा एक निर्णायक कडी पनि हो ।
एउटा यस्तो पुस्ता जो सामाजिक र राजनीतिक बेथितिमाझ जन्मियो । उसले अनेकन बेथिति देखेको छ । सामाजिक न्यायलाई उसले कहिल्यै स्वतन्त्र उपभोग गर्न पाएन । राज्यका निर्णायक निकाय अनि संरचनामा एउटा आममान्छेको प्रतिनिधित्व कहिल्यै प्रतिध्वनित हुन पाएन । यो पुस्ताले संसार बुझिसकेको थियो । इन्टरनेट र अनेकानेक प्रविधिसँगै भर्चुअल दुनियाँ चक्कर काटिरहेको यो पुस्तालाई थाहा थियो एउटा वैश्विक समाज कस्तो हुन्छ ? आत्मसम्मान र आत्मस्वतन्त्रताको मूल्य उसले यो समाजमा होइन वैश्विक परामर्शबाट लिएको थियो । सत्ता र शक्तिको विनियम र भागबन्डाबाट निकै ढाटा रहेको समाजको एउटा हिस्सा जेनजीको त्यही विद्रोहमार्फत सडकमा विस्फोट भएको हो । त्यसैले यो चुनाव सत्ता र शक्तिको अंशबन्डा, भागबन्डा वा त्यसको अङ्कगणित मात्रै होइन । मात्रै लोकतन्त्रको अभ्यास मात्रै पनि होइन । बरु यो त अब नवपुस्ताको समृद्ध भविष्य र राष्ट्रनिर्माणको एक निर्णायक विन्दु पनि हो ।