पुष्कर भण्डारी
डडेल्धुरा, फागुन ८ गते । चुरे पहाडको भावर क्षेत्रमा अवस्थित भित्रिमधेश जोगबुडा पछिल्ला वर्षहरूमा तीव्र भौतिक पूर्वाधार विकाससँगै सुगम बन्दै गएको छ । एक समय कच्ची सडक, बाढीले बगाउने खोला र आधारभूत सेवाको अभावले चिनिएको यो क्षेत्र आज कालोपत्रे सडक, मोटरेबल पुल, अस्पताल, क्याम्पस, विद्युत्, सिँचाइ कुलो र खानेपानीको पहुँचसँगै नयाँ पहिचान बनाउँदै छ ।
कच्चीबाट कालोपत्रेसम्म : बुडर–जोगबुडा सडकको प्रभाव
पाँच वर्षअघिसम्म डोटीको बुडर बजारदेखि जोगबुडा क्षेत्र—आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको मुकाम लालढुंगा बजारसम्म—कच्ची सडक मात्र थियो । वर्षात्का बेला खोलामा पुल नहुँदा सडक अवरुद्ध हुन्थ्यो र स्थानीयवासीले सास्ती खेप्नुपथ्र्यो ।
२०७७ सालमा बुडर–जोगबुडा ३० किलोमिटर सडक कालोपत्रे भएपछि अवस्था फेरिएको छ । आलितालको जालटुडा, बाघखोली तथा परशुरामको आमपानी, गाईबाधे र रंगुन खोलामा मोटरेबल पुल निर्माण भएसँगै आवतजावत सहज भएको छ । आलितालको सुनखोलामा यसअघि नै मोटरेबल पुल बनेको थियो, जसले वर्षायाममा बारम्बार बन्द हुने सडकलाई राहत दिएको स्थानीय ज्येष्ठ नागरिक नरबहादुर साउद बताउनुहुन्छ ।
उहाँका अनुसार, चुरेको माथिल्लो क्षेत्रमा सामान्य वर्षा हुँदा पनि सुनखोलामा आउने बाढीले सडक बन्द हुन्थ्यो । अहिले पुल र कालोपत्रे सडक बनेपछि त्यस्तो समस्या हटेको छ ।
सेवा–सुविधाको विस्तार : अस्पतालदेखि विश्वविद्यालयसम्म
भौतिक पूर्वाधारसँगै सामाजिक पूर्वाधार पनि विस्तार भएको छ । गत पुस महिनाको पहिलो साता जोगबुडा अस्पताललाई प्रदेशअन्तर्गत राखेर ५० शय्यामा स्तरोन्नति गरिएको छ । त्रिवेणी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा सञ्चालनमा छ । विद्यालय, सिँचाइ कुलो, घरघरमा धारा, विद्युतीकरण, खेलमैदान तथा टेलिफोन टावर निर्माणले जोगबुडावासीलाई सुगम क्षेत्रको अनुभूति दिलाएको छ ।
कृषि उत्पादनका लागि परिचित जोगबुडामा सडक पुगेपछि थ्रेसरजस्ता उपकरण गाउँमै भित्रिएका छन् । गहुँ छुट्याउने काम सहज भएको छ । कृषि उपज बजारसम्म पुर्याउन अब पिठ्यूँमा बोकेर दिनभर हिँड्नुपर्ने बाध्यता हटेको छ ।
विगतको कठिन यात्राबाट वर्तमानको सहजता
२०३६ सालतिर हालको अमरगढी नगरपालिका–९ साउनगाउँबाट परशुराम नगरपालिका–१२ मोटाहल्दु गाउँ सर्नुभएका नरबहादुर साउदले त्यतिबेलाको अवस्था सम्झँदै भन्नुहुन्छ, “खोला किनारबाट पानी ल्याउँदा बाटो हराउने अवस्था हुन्थ्यो । घना जंगल र झाडीले गर्दा हिँडेको बाटो बिर्सेर अर्कै बाटो घर पुगिन्थ्यो ।”
त्यो समयमा जोगबुडाबाट पैदल कञ्चनपुरको महेन्द्रनगर बजार पुग्न एक दिन लाग्थ्यो । गाउँको अन्न पिठ्यूँमा बोकेर बेच्न जानु र नुन, गुड तथा लत्ताकपडा बोकेर फर्कनु सामान्य दिनचर्या थियो । अहिले भने सडक सञ्जाल विस्तारसँगै यातायात सेवा उपलब्ध भएको छ र जीवनशैलीमा आमूल परिवर्तन आएको उहाँको भनाइ छ ।
महाकाली करिडोर : सम्भावनाको नयाँ ढोका
कञ्चनपुरको भीमदत्त नगरपालिकासँग सीमा जोडिएको महाकाली नदी किनारस्थित परशुराम नगरपालिका–७ साँदनी क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन देखिएको छ । साँदनी खोलामा पक्की मोटरेबल पुल निर्माण भएको छ भने प्रहरी चौकी स्थापना गरिएको छ । साँदनी हुँदै महाकाली करिडोर सडक निर्माण सुरु भएसँगै यस क्षेत्रमा ६ किलोमिटर सडक कालोपत्रे भइसकेको स्थानीय मन्दिरसिंह धामी बताउनुहुन्छ ।
उहाँका अनुसार, करिडोर पूर्ण रूपमा सम्पन्न भएमा आधा घण्टामै गाडी चढेर महेन्द्रनगर पुग्न सकिनेछ—जुन विगतको एक दिन लामो पैदल यात्राको ठीक उल्टो परिदृश्य हो ।
चुनौती पनि बाँकी
यद्यपि पूर्वाधार विस्तारसँगै सबै समस्या समाधान भइसकेका छैनन् । केही विद्यालयमा विद्यार्थी अभावले पठनपाठन प्रभावित भएको छ । कृषि उत्पादनको प्रशोधन र बजारीकरणका लागि थप संरचना आवश्यक देखिन्छ । विकासको गतिलाई दिगो बनाउन रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा निरन्तर लगानी जरुरी छ ।
खोला–नदी किनार तथा चुरेको दलदले भू–बनोटका कारण निर्माण गरिएका भौतिक संरचनामा वर्षात्को बाढीले क्षति पुर्याउने गरेको छ । महाकाली नदी, रंगुन, पन्तुरा, साँदनीलगायतका दर्जनौँ खहरे खोलाले उर्वर जमिनसँगै तटबन्ध, सिँचाइ तथा खानेपानीका संरचना बगाउँदै आएका छन् । यसका लागि दिगो भौतिक संरचना निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।
भित्रिमधेश जोगबुडा आज चुरेको काखबाट सुगमतर्फ उन्मुख छ । सडक, पुल, अस्पताल र क्याम्पसजस्ता पूर्वाधारले यहाँको सामाजिक–आर्थिक रूपान्तरणलाई तीव्रता दिएका छन् । विगतको दुःखदायी यात्रासँग तुलना गर्दा अहिलेको परिवर्तन ‘आकाश–पातालको फरक’ जस्तै देखिन्छ । अब आवश्यक छ, यो परिवर्तनलाई समावेशी, दिगो र उत्पादनमुखी विकासमा रूपान्तरण गर्ने दूरदर्शी योजना ।