• ७ वैशाख २०८१, शुक्रबार

राहदानी खोज्नेको चाप थेग्न हम्मे

blog

सर्लाही, साउन २ गते । सर्लाहीको जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवनलाई राहदानी फाँटको चाप थेग्न हम्मे हम्मे भएको छ । सेवाग्राहीको भीड कम गर्न र उनीहरूको सहजताका लागि भन्दै विभिन्न नियम लागू गर्दा पनि सेवाग्राहीले यी दुई कार्यालयबाट सहज रूपमा राहदानी पाउन सकिरहेका छैनन् । राहदानीका लागि धेरै दिनसम्म जिल्ला प्रशासन कार्यालय धाउनु परेको सेवाग्राहीको गुनासो छ ।  

जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हरिप्रसाद अधिकारीले सेवाग्राहीलाई सकेसम्म सहज रूपमै राहदानी पाउने गरी काम भइरहेको जानकारी दिनुभयो । राहदानी बनाउन यसअघि सीमित सङ्ख्यामा अनलाइन आवेदन खुला भए पनि त्यसो गर्दा धेरै सेवाग्राहीले फाराम भर्न समेत नपाएको भन्ने गुनासो गरेपछि अहिले भने दैनिक पाँच सय आवेदन खुला गरिएको अधिकारीले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक ६० देखि ७० जनाको फोटो खिचेर राहदानीको विवरण प्रविष्ट गर्ने काम भइरहेको छ । अब केही दिनमै इलाका प्रशासन कार्यालय बरहथवाबाट पनि राहदानी प्रदान गर्ने व्यवस्था मिलाउन लागिएकाले त्यसपछि भीडभाड केही कम हुने सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाइ छ । 

राहदानीलाई ई–पासपोर्टमा लगिएपछि बरहथवाबाट राहदानीको सबै काम रोकिएको छ । यस्तै इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख गुणबहादुर भुजेलले सेवाग्राहीले दुःख नपाउने गरी काम भइरहेको बताउनुभएको छ । उहाँका अनुसार हरिवनबाट दैनिक ३० देखि ४० जना सेवाग्राहीको राहदानीका लागि फोटो खिच्ने गरिएको छ । राहदानीसँगै राष्ट्रिय परिचयपत्रको फर्म भर्नका लागि पनि सेवाग्राहीको अत्यधिक भीड रहेको कर्मचारीले बताएका छन् ।

Author

जनार्जन खत्री