स्याङ्जा, फागुन ५ गते । अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा महाशिवरात्रिमा कलाकार पशुपति शर्माले भक्तजनलाई मनोरञ्जन प्रदान गर्नुभएको छ । पालिकाको आयोजनामा आयोजना गरिएको अन्तरमावि भजन प्रतियोगितामा शर्माले दर्शकलाई आफ्ना भजन गाएर नवग्रह आउनुभएका भक्तजनलाई मनोरञ्जन प्रदान गर्नुका साथै नचाउनु भएको हो ।
अर्जुन चौपारी–१ को नवग्रह मन्दिरमा शर्माले भगवान्को नाममा तीन ताल बजे खैँजडी..., मलाई बगाउला कि फूल बगाउने नदीले..., जाउँला वैकुण्डमा नाच्दै गाउँदै बजाउँदै..., खोइ बाटो खनेको स्वर्ग जाने भनेको..., परौँला चरणमा भगवान्को शरणमा... लगायतका भजन गाउनुभएको थियो ।
यस्तै शर्माले भजनसँगै म कति राम्रो छु लाइटै बालेर..., जे गर्न नि गारो... लगायतका गीत गाउनुभएको थियो । सो कार्यक्रममा अन्य कलाकार घनश्याम रिजाल, अर्जुन गैरे र गोपाल जिटीले साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो ।
यस्तै महाशिवरात्रिमा अन्तरविद्यालयस्तरीय भजनमा रामनदी गुरुकूल विद्यालयले पहिलो स्थान हासिल गरेको छ । पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नवग्रह मन्दिरमा नौ लाख नौ लाख ९९ हजार ९९९ दीप प्रज्वलन गरिएको हो । नेपालमै पहिलो पटक नवग्रह मन्दिर निर्माण भएसँगै अर्जुनचौपारी धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने छ ।