• ४ फागुन २०८२, सोमबार

एक महिनामै ५७ नागरिक हराए, २९ भेटिए

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, फागुन ४ गते । बाँकेमा एक महिनामा ५७ जना नागरिकहरू हराएका छन् भने तीमध्ये २९ जना भेटिएका छन् । गत माघ महिनामा बाँकेबाट सबैभन्दा धेरै महिला र बालबालिकाहरू हराएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले माघ महिनामा बाँकेबाट ५७ जना नागरिक हराएको भन्दै खोजिदिनका लागि प्रहरीमा उजुरी परेको जानकारी दिनुभयो ।

प्रवक्ता पातलीका अनुसार २५ जना महिला, २१ जना बालिका, ६ जना बालक, दुई जना ज्येष्ठ नागरिक पुरुष र तीन जना पुरुष गरी ५७ जना हराएको प्रहरीमा उजुरी परेका थिए ।

जसमध्ये ११ जना महिला, १५ जना बालिका, एक जना बालक र दुई जना ज्येष्ठ नागरिक पुरुष गरी २९ जना भेटिएका छन् भने १४ जना महिला, ६ जना बालिका, पाँच जना बालक र तीन जना पुरुष गरी २८ जना नागरिक अझै सम्पर्कविहीन रहेका उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता पातलीले महिलाहरू घरबाट भागेर बिहे गर्ने, १६–१७ वर्ष उमेर समूहका बालिकाहरू पनि घरबाट सल्लाह नगरेरै बिहे गरेर भाग्ने लगायतका कारणबाट अधिंकाश हराएका उजुरी पर्ने गरेको भन्दै पछि कोही कोही आफैँ घरपरिवारको सम्पर्कमा आउने गरेका र कसैलाई प्रहरीले खोजीकार्य गरेर फेला पार्ने गरेको उल्लेख गर्नुभयो ।

उहाँले माघ महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न २०६ वटा उजुरी परेकामा १८० फर्छ्याैट गरिएको र २६ वटा उजुरी बाँकी रहेका जानकारी दिनुभयो । अपराध अनुसन्धान नियन्त्रणतर्फ १४३ वटा मुद्दा दर्ता भएका थिए ।

जसमध्ये ६ वटा जघन्य, ५५ वटा गम्भीर अपराध, ८२ वटा सामान्य अपराध, सात वटा महिला बालबालिका तथा ज्येष्ठ नागरिक र आर्थिक अपराधसम्बन्धी ३४ वटा मुद्दा दर्ता भएकामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी मुद्दाका ६ जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

चालु मुद्दाका १३३ प्रतिवादीलाई पक्राउ गरिएको, सार्वजनिक चासोका १३ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको, फैसला कार्यान्वय तर्फका ८ वर्ष ४ महिना ७ दिन कैद सजाय तोकिएका र २२ लाख ८४ हजार ३७२ रुपियाँ बिगो रकम, क्षतिपूर्ति तिर्न बाँकी रहेका ३५ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता पातलीले जानकारी दिनुभयो ।

त्यसैगरी घरेलु हिंसा प्रकृतिका झैंझगडा ४० वटा उजुरी दर्ता भएकामा २५ वटा उजुरी मिलापत्र गराइएको तथा अदालत पठाइएको छ । लागु औषध कारोबारमा संलग्न विभिन्न लागु औषधसहित २८ जनालाई पनि पक्राउ गरिएको छ ।

त्यसैगरी माघ महिनामा बाँकेमा ६९ वटा सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनमा १०२ वटा सवारी संलग्न रहेका थिए । जसमा ६ जनाको मृत्यु भएको र ८८ जना घाइते बनेका प्रवक्ता पातलीले जानकारी दिनुभयो ।

तीव्र गति, चालकको असक्षमता, अन्य लापरबाही तथा मापसे लगायतका कारण दुर्घटना भएका पाइएको भन्दै उहाँले चेकिङका क्रममा नियमविपरीत सञ्चालित २२०५ वटा सवारी साधनलाई कारबाही गरिएको र १८ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।

राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण, विपद् व्यवस्थापन, अवैध मदिरा नियन्त्रण लगायतका कार्यहरूका साथसाथै विद्यालय तथा समुदायस्तरमा विभिन्न सचेतना तथा जनचेतनामूलक कार्यहरू पनि प्रहरीले नियमित गर्दै आएको प्रवक्ता पातलीले जानकारी दिनुभयो ।