• ३ फागुन २०८२, आइतबार

केन्याली धावक वाहोमेलाई पोखरा म्याराथन उपाधि

blog

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका उपाधि विजेताहरु । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन ३ गते । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियुकी वाहोमेले जित्नुभएको छ । शनिबार नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा उहाँले निर्धारित दूरी ४२.१९५ किलोमिटर २ घन्टा २३ मिनेट ३९ सेकेन्डमा पार गर्नुभयो ।

विजेता धावक वाहोमेले नगद चार लाख र मेडल प्राप्त गर्नुभयो । प्रतियोगितामा गजेन्द्र राईले २ घन्टा २४ मिनेट ४७ सेकेन्डमा दूरी पार गर्दै नगद दुई लाख र मेडल पाउनुभयो । २ घन्टा २७ मिनेट १८ सेकेन्डमा दूरी छिचोल्नुभएका धादिङका हरिकुमार रिमाल तेस्रो हुँदै नगद एक लाखसहित मेडलको हकदार बन्नुभयो ।

म्याराथनको नेपाल क्याटगोरीमा प्रथम भई गजेन्द्र राईले नगद एक लाख र मेडल पाउँदा दोस्रो बन्नुभएका हरिकुमार रिमालले ५० हजार र तेस्रो करण रावलले २५ हजारसहित मेडल पाउनुभयो । गण्डकी क्याटगोरीमा पर्वतका सुवास गुरुङ प्रथम, गोरखाका निरोज भट्ट दोस्रो र स्याङ्जाका धनु मानन्धर हुँदै क्रमशः ५० हजार, ३० हजार र २० हजार पाउनुभयो ।

४५ वर्ष माथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल प्रथम, सुशीलकुमार श्रेष्ठ दोस्रो र चेतनाथ चालिसे बन्नुभयो । यो विधामा प्रथम हुने दाहालले २५ हजार, दोस्रो हुने श्रेष्ठले १५ हजार र तेस्रो हुने चालिसेले १० हजारसहित मेडल पाउनुभएको छ । 

२१ किलोमिटरको हाफ म्याराथनमा पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम, नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तृतीय हुनुभयो । हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तृतीय बन्नुभयो । हाफ म्याराथनको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार तेस्रो हुनेले ३० हजार पाउनुभयो ।

२१ किलोमिटर हाफ म्याराथनकै ४५ वर्ष माथिको भेट्रान पुरुष दौडमा धर्म महर्जन प्रथम, तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो बन्दै क्रमशः २० हजार, १५ हजार र १० हजार सहित मेडल जित्नुभएको छ ।

१० किलोमिटर दौड पुरुषमा नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो बन्नुभयो । यही दूरीमा महिलातर्फ दीपा परियार प्रथम, सुमित्राकुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तृतीय बन्नुभयो । पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजारसहित मेडल पाएका छन् ।

प्रतियोगिताको पाँच किलोमिटर छात्रतर्फ रोसनकुमार माझी प्रथम, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तृतीय हुँदा छात्रातर्फ एञ्जिला जिटी प्रथम, साधना परियार दोस्रो र अनुषा बुढा तेस्रो ठहरिनुभयो । पाँच किलोमिटर खुला पुरुष दौडतर्फ सन्तोषनाथ योगी प्रथम, बादल कार्की दोस्रो र तुलबहादुर झेण्डी तृतीय बन्दा महिलातर्फ टीका खड्का प्रथम, दृष्टि आले दोस्रो र पूर्णकाशी गुरुङ तेस्रो हुनुभयो ।

५० वर्ष माथिको पुरुषतर्फको पाँच किलोमिटर दौडमा राजु भण्डारी प्रथम, किशोर थापा दोस्रो र आईलाल शाही तेस्रो हुँदा ४५ वर्ष माथिको महिला भेट्रान दौडमा टोलमाया थापा प्रथम, जगनसुबा गुरुङ दोस्रो र विष्णु ठकुरी तेस्रो बन्नुभयो ।

पाँच किलोमिटर कर्पोरेट पुरुष दौडमा सुशन थापा प्रथम, दीवेश रिजाल दोस्रो र राजु गुरुङ तेस्रो हुँदा महिलातर्फको कर्पोरेट दौडमा पवित्रा सुवेदी प्रथम, खड्कदेवी बास्तोला दोस्रो र विनुता पाण्डे तृतीय हुनुभएको छ । 

विजेतालाई आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाट, पूर्वअध्यक्ष तेजबहादुर गुरुङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली लगायतले पुरस्कार वितरण गर्नुभएको छ। 

शनिबार बिहान पोखरा रंगशालाबाट सुरु भएको दौड पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुरुआत गर्नुभएको थियो । दौडमा प्रतियोगितात्मक रुपमा तीन हजार छ सय एक र रन फर फनमा छ हजार पाँच सय गरी कुल १० हजार सहभागी भएको आयोजकले जनाएको छ ।