• ३ फागुन २०८२, आइतबार

ढिस्को खस्दा एकको मृत्यु, दुई जना घाइते

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन २ गते । जिल्लाको मंगला गाउँपालिका –२ सल्यानस्थित बाबियाचौरतर्फ जाने भित्रि सडकखण्डमा ग्याभिन जाली भर्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

शनिबार ग्याभिन जाली भर्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रोल्पाको सुनछहारी गाउँपालिका –२ का २८ वर्षिय सत बुढामगरको मृत्यु भएको हो । माटोले पुरिएर घाइते भएको अवस्थामा उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । 

सोही स्थानमा काम गर्दैगरेका रोल्पा सुनछहारी गाउँपालिका –२ का ३४ वर्षिय केशमान बुढामगर, १९ वर्षिय टेकबीर बुढामगर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको प्रदेश अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको अस्पतालका चिकित्सकले जनाएका छन् ।

दिउँसो एक्कासी माटोको ढिस्कोले पुरिएपछि इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रबिन्द्र कार्कीको नेतृत्वमा ७ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि पठाएको थियो । 

त्यसैगरी प्रहरी चौकी बाबिायाचौरबाट प्रहरी सहायक निरीक्षक सुमन थापाको कमाण्डमा निर्वाचन प्रहरी सहित १५ जनाको टोली घटनास्थलमा खटेको थियो । मृतकको शव प्रदेश अस्पताल बेनीका शबगृहमा राखिएको अस्पतालले जनाएको छ ।