भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन २ गते । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षाका लागि अनुगमनकर्तालाई तालिम प्रदान गरिएको जनाएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नौ जना मतदाता शिक्षा अनुगमनकर्तालाई प्रशिक्षण दिइएको सो कार्यालयले जनाएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले तीन निर्वाचन क्षेत्र रहेका जिल्लाका नौ वटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालनका लागि अनुगमनकर्तालाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो ।
मतदान प्रक्रियालाई सरल, सहज बनाउन तथा बदर हुने मतलाई घटाउने अपेक्षासहित अनुगमनकर्तालाई प्रशिक्षण प्रदान गरिएको उहाँले बताउनुभयो । अनुगमनकर्ताले पालिका स्तरमा छनौट भएका स्वंयमसेवकलाई मत बदर हुन नदिन तालिम प्रदान गर्ने उहाँले बताउनुभयो ।
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा अत्यधिक मत बदर हुँदैआएको छ । विसं २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कुल खसेको मतको ६.५ प्रतिशत मत बदर भएको थियो ।
सूचना अधिकारी महराका अनुसार निर्वाचन क्षेत्र १ मा ९९ हजार ११० मतदातामध्ये ६३ हजार ७७० मत खसेकोमा ६० हजार १४० मत सदर भएको थियो भने तीन हजार ६३० मत बदर भएको थियो । त्यसैगरी, क्षेत्र–२ मा चार हजार ८५३ मत बदर भएको थियो । क्षेत्र–३ मा तीन हजार ६२१ मत बदर भएको थियो ।
गत निर्वाचनमा अत्यधिक मत बदर भएकाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन मतदाता शिक्षा अनुगमकर्तालाई आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागि तालिम प्रदान गरिएको सो कार्यालयले जनाएको छ ।
जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, पुनर्वास नगरपालिका तथा बेलडाँडी र लालझाँडी गाउँपालिकाका ९२ वटै वडामा एक–एक जना अनुभवीलाई स्वयंसेवक नियुक्त गरिएको छ ।
यस जिल्लामा १३२ वटा मतदानस्थलमा कुल तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । मतदाता शिक्षा स्वयंसेवकले मतदाताको घर बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारेमा मतदातालाई जानकारी गराउने छन् । आगामी निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिसचन्द्र जोशीले बताउनुभयो ।