• २ फागुन २०८२, शनिबार

सेना दिवसमा एकता दौड प्रतियोगिता

blog

पुरस्कार ग्रहण गर्दै नेपाली सेनाका धावक । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन २ गते । महाशिवरात्री तथा २६३ औं नेपाली सेना दिवसको अवसरमा आज धनगढीमा एकता दौड कार्यक्रम सम्पन्न गरिएको छ । 

सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा एकता दौड भएको हो । एकता दौडमा नेपाली सेनाका धावकले वर्चस्व कायम गरेका छन् । दश किलोमिटर खुल्ला दौडमा पुरुषतर्फ भैरवनाथ गणका अक्कल पालले ३२ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हासिल गर्नुभयो । 

३४ मिनेट एक सेकेन्डमा निर्धारित दूरी पूरागरी रणसिंह दल गणका प्रकाश कठायत दोस्रो र ३५ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पूरागरी अर्जुनवाण गणका सिपाही अर्जुन सार्की तेस्रो हुनुभयो ।

यसैगरी, महिलातर्फ श्री गोरखबक्स गणका सृजना पाण्डेय प्रथम हुनुभयो । उहाँले ३९ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पार गर्नुभयो । यसैगरी, श्री जगदलका सरस्वती भट्टराईले दोस्रो स्थान प्राप्त गर्नुुभयो । तेस्रो स्थान शान्ता ओलीले प्राप्त गर्नुभयो । प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका धावकहरुलाई क्रमशः ३५ हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको छ । 

यसैगरी, पाँच किलोमिटर दौडमा छात्रातर्फ धनगढी नमूना माध्यमिक विद्यालयका देवकुमारी धामी प्रथम, अर्जुन माध्यमिक विद्यालय बैतडीका मञ्जुकुमारी धामी दोस्रो र पुनर्वास जनता माध्यमिक विद्यालयका पवित्रा सार्कीले तेस्रो स्थान प्राप्त गर्नुभयो । छात्रतर्फ भने त्रिनगर माध्यमिक विद्यालयका टेकबहादुर चन्द पहिलो हुनुभयो । 

छात्रा र छात्रतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थी धावकलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ । विजेता धावकहरुलाई प्रदेश प्रमुख नजिर मियाँले पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गर्नुभयो ।