रमेश विश्वकर्मा
गुल्मी,फागुन २ गते । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मीमा मुख्य चार दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४३ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा राजनीतिक दलका २० र स्वतन्त्र २३ जना रहे पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच हुने देखिएको छ ।
उम्मेदवार जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धतासहित मतदाता भेटघाटमा व्यस्त छन् । निर्वाचन क्षेत्र नं १ मा ११ स्वतन्त्रसहित २१ जनाले मनोनयन दर्ता गराएका छन् । यहाँ नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी, नेकपा (एमाले)का प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल र रास्वपाका सागर ढकालबीच प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका भण्डारी ३३ हजार ७४४ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने एमालेका ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको थियो ।
केन्द्रीय राजनीतिमा प्रभावशाली मानिने भण्डारी र ज्ञवाली यस क्षेत्रबाट आलोपालो निर्वाचित हुँदै आउनुभएको छ । यस पटक पूर्वमन्त्री बराल र युवा उम्मेदवार ढकालको उपस्थितिले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ मा १२ स्वतन्त्रसहित २२ जना चुनावी मैदानमा छन् । यहाँ एमालेका गोकर्णराज विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत र रास्वपाका गोविन्द पन्थीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । एमालेका विष्टले २०५६ देखि यस क्षेत्रमा प्रतिस्पर्धा गर्दै आउनुभएको छ भने २०६४ बाहेकका सबै निर्वाचनमा उहाँ विजयी हुनुभएको छ ।
गत निर्वाचनमा विष्ट २८ हजार ४८५ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको थियो । झाँक्री अहिले एमालेमै फर्किएर राष्ट्रियसभा सदस्य बन्नुभएको छ ।
विष्टलाई यस पटक कांग्रेसका पूर्वजिल्ला सभापति श्रेष्ठ र नयाँ उम्मेदवारको चुनौती रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।