• २ फागुन २०८२, शनिबार

बदर मत घटाउन मतदाता शिक्षा अभियान

blog

मतदाता शिक्षाको एकदिने तालिममा सहभागी बर्दिबास नगरपालिकाका बाल विकास सहजकर्ता । तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, फागुन २ गते । जिल्ला निर्वाचन कार्यालयले महोत्तरीका १५ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी पूरा गरेको छ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन र मतदातालाई निर्वाचनको महत्त्व बुझाउन यस कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ ।

'मतदाता शिक्षा विशेष कार्यक्रम २०८२' अन्तर्गत अनुगमनकर्ताको जिम्मेवारी पाएका स्थानीय तहका शिक्षा शाखाका १५ जना स्रोत व्यक्तिलाई एकदिने तालिम दिइएको छ । त्यस्तै जिल्लाभरका १३८ वटा वडाका बाल विकास सहजकर्तालाई पनि तालिम दिइएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले बताउनुभयो ।

उहाँका अनुसार तालिमप्राप्त बाल विकास सहजकर्ताले सोमबार ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने छन् । सहजकर्ताले मतदाताको घरआँगनमा पुगेर लोकतन्त्रमा मतदानको महत्त्व र आवश्यकता बुझाउनुका साथै नमुना मतपत्रका आधारमा मतदान गर्ने तरिका सिकाउने छन् ।

विगतका निर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र दुईवटा समानुपातिक गरी चारवटा मतपत्रमा छाप लगाउनुपर्दा धेरैजसो मतदाता झुक्किएर मत बदर भएको पाइएको थियो । यस पटक एकजना मतदाताले दुईवटा मतपत्रमा मात्र मत दिनुपर्ने भएकाले केही सहज देखिए पनि बदर मत न्यूनीकरणका लागि मतदाता शिक्षा आवश्यक रहेको जनाइएको छ ।

निर्वाचन अधिकारी झाले भन्नुभयो, “मतदाता शिक्षाले मत दिन मात्र सिकाउने नभई बदर मतको अनुपात घटाउन र निर्वाचनमा मतदाताको सहभागिता बढाउन समेत सहयोग पुग्ने छ ।” निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत गगनदेव महतोले घरआँगनमा पुगेर दिइने शिक्षाले निर्वाचनलाई सरल, सहज र सहभागितामूलक बनाउन मद्दत पुग्ने बताउनुभयो ।

चार निर्वाचन क्षेत्र र चार लाख ३१ हजार २८२ मतदाता रहेको महोत्तरीमा २५८ मतदान स्थल र ५३६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।