ढोरपाटन (बागलुङ), फागुन २ गते । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो । स्तरोन्नति नहुँदा यहाँका स्थानीयले लामो समयदेखि सास्ती बेहोर्दै आएका छन् । यसका लागि यहाँका स्थानीयको अर्को समस्या हो, वन्यजन्तु । बँदेल र बाँदरलगायतका वन्यजन्तुका कारण स्थानीय हैरान छन् । जंगलबाट आएर बालीनाली नष्ट गरिदिने भएकाले उनीहरु यो समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्दै घरदैलो पुग्दै गरेका उम्मेदवारसँग बागलुङ-२ का मतदाताले यिनै समस्या सुनाउने गरेका छन् । ढोरपाटन नगरपालिका-९ का थुमकला विकले बुर्तिबाङ बजारदेखि ढोरपाटन उपत्यका जोड्ने सडक एक दशक अगाडि निर्माण भए पनि अहिलेसम्म स्तरोन्नति नहुँदा समस्या भोग्नुृ परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा सडक बनेपछि सुविधा होला भन्ने सोचेका थियौँ । तर सुविधाभन्दा बढी सास्ती भएको छ । चुनाव आउँदा यो सडक हामी बनाउँछौँ भोट दिनुभन्दा आउँछन् । भोट दिएर जितेपछि कोही पनि गाउँ फर्किएर आउँदैनन् । यो सडकले हामीलाई कति दुःख दिएको छ । यसको समाधान गर्न सक्ने नेतालाई यसपालीको चुनावमा भोट दिन्छौँ ।”
स्थानीय तुलबहादुर घर्ती मगरले घरै नजिकको जङ्गलबाट दैनिक बाँदर, चितुवा र बँदेल आएर बालीनालीको क्षति गरि दिने र मान्छेलाई आक्रमण गर्ने गरेको गुनासो गर्नुभयो । वन्यजन्तुबाट समस्यामा पर्दै आएका स्थानीयको समस्या बुझ्ने उम्मेदवारलाई गाउँका स्थानीयले एकै ठाउँमा भोट दिने सल्लाह गरेको सुनाउनुभयो ।
“बिहान बेलुका बाँदर, बँदले ढपाउँदैमा दिन जान्छ । बारीमा लगाएको तरकारी, बालीनाली केही बाँकी राख्दैन । आइमाइ केटाकेटी एक्लै वरपर गर्न पनि गाह्रो हुन्छ”, उहाँले भन्नुभयो,“चुनावका बेला हामीलाई भोट दिनु समस्या समाधान गर्छौ भन्ने धेरै नेता आए । तर चुनाव जितेर कहाँ गए गए रु”
निसीखोला गाउँपालिका-५ कुँडेका गङ्गाबहादुर विकले सडक व्यवस्थित नहुँदा यात्रा र सामान ढुवानी गर्न निकै कठिन हुने बताउनुभयो । अप्ठ्यारो र साँघुरो सडकका कारण बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो भाडा तिर्न बाध्य भएको उहाँको भनाइ छ । यसपाली बुर्तिबाङ-ढोरपाटन र ढोरपाटन-निसेलढोर सडक स्तरोन्नतिका लागि पहल गर्ने उम्मेदवारलाई भोट दिने उहाँले सुनाउनुभयो । रासस