गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र आमजनता पार्टी (अजपा) पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले शुक्रबार काठमाडौँमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर आआफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
जसपा नेपालका अध्यक्ष यादवले संविधान संशोधन गर्न उच्चस्तरीय संविधान पुनर्लेखन आयोग गठन गर्नुपर्ने बताउनुभयो । जसपा नेपाल घोषणापत्रमा वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क भिसा र टिकट, आन्तरिक रोजगारीको प्रत्याभूति नहुन्जेलसम्म वैदेशिक रोजगारीमा जाने नागरिकका लागि सिप विकास, प्रशिक्षण तथा रोजगारीमा जाँदा आवश्यक पर्ने लागत खर्चको उचित व्यवस्थापन रोजगारदाताबाट ग्यारेन्टी गरिनुपर्ने उल्लेख छ । शिक्षा र स्वास्थ्यमा आमनागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण सुशासन कायमलगायत विकास निर्माणका कार्यलाई प्राथमिकता दिएर घोषणापत्र जसपाले ल्याएको छ ।
आमजनता पार्टीका अध्यक्ष साहले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने बताउनुभयो । यस्तै जसपा नेपालको घोषणापत्रमा अर्थतन्त्र सुधार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा वैदेशिक रोजगारसम्मको संरचनागत परिवर्तन गर्ने विषय समेटिएका छन् ।