• २ फागुन २०८२, शनिबार

परम्परागत प्रतिस्पर्धामा नयाँ उम्मेदवारको टक्कर

blog

विजयकुमार साह 

ढल्केबर, फागुन २ गते   । प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन नजिकिँदै गर्दा राजनीतिक चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरू चुनावी कार्यव्रmम अन्तर्गत कार्यकर्ता भेटघाट, सङ्गठन निर्माण र घरदैलो अभियानमा व्यस्त छन् ।  

धनुषा निर्वाचन क्षेत्र नं. ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ अघिल्ला दुई निर्वाचनमा निरन्तर निर्वाचित नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठ, नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री महेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका राजकिशोर महतो, नेपाली कम्युनिस्ट पार्टीका सञ्जयकुमार महतो गरी ४२ उम्मेदवार हुनुहुन्छ । 

यस पटक महासेठ र यादवको परम्परागत प्रतिस्पर्धामा नयाँ उम्मेदवारले पनि बलियो टक्कर दिने देखिन्छ । नेपाली कम्युनिस्ट पार्टीका सञ्जयकुमार र रास्वपाका राजकिशोर नयाँ अनुहारका रूपमा मैदानमा उत्रनुभएको छ ।

एमाले नेता महासेठले आफूले गरेको कामको मूल्याङ्कन जनताले गरिरहेको दाबी गर्नुभयो । उहाँले विकासको मुद्दालाई दोस्रो स्थानमा राख्दै पहिलो मुद्दा राष्ट्रियता बचाउनु रहेको बताउनुभयो । 

नेपाली कांग्रेसका नेता महेन्द्र यादवले लोकतन्त्र सुदृढीकरण, विकासनिर्माण र जनताको समस्या समाधानलाई आफ्नो प्राथमिकता बनाएको बताउनुभयो । उहाँले यस क्षेत्रबाट पटक पटक चुनाव जितेकाले नेता मन्त्री बन्नेबाहेक कुनै काम नगरेको आरोप लगाउनुभयो । रास्वपाका उम्मेदवार राजकिशोर महतोले भने बोल्नेभन्दा काम गरेर देखाउने बताउनुभयो । 

कांग्रेस नेता यादव यसअघि पनि दुई पटक यही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । २०७९ को निर्वाचनमा महासेठ ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभएको थियो । उहाँहरूबिचको मतान्तर १२४ थियो । 

यस क्षेत्रमा बटेश्वर गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाको सम्पूर्ण क्षेत्र पर्छ । यसै गरी मिथिला नगरपालिका–४ बाहेक सबै वडा, छिरेश्वरनाथ नगरपालिका–८ र ९ बाहेक सबै वडा, मिथिला बिहारी नगरपालिका–१, ३, ४ र ५ बाहेक अन्य वडा तथा जनकपुरधाम उपमहानगरपालिका–९, १३, १४, १९, २१ र २२ यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।