अर्जुन काफ्ले
स्याङ्जा, फागुन २ गते । फागुन २१ गते हुने संघीय निर्वाचन नजिकिँदै जाँदा स्याङ्जामा एकै बैंकसँग सम्बन्धित दुई बैंकरबिचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
जिल्लाको क्षेत्र नं. १ मा मुक्तिनाथ विकास बैंक का पूर्व अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहिसकेका दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको हो।
यस क्षेत्रमा नेपाली कांग्रेस का तर्फबाट आँधीखोला गाउँपालिका–६ निवासी पूर्व अध्यक्ष तथा सीईओ भरतराज ढकाल उम्मेदवार हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पुतलीबजार नगरपालिका–९ निवासी पूर्व अध्यक्ष मिनप्रसाद गुरुङ प्रतिस्पर्धामा रहनुभएको छ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी लगायत अन्य दल र स्वतन्त्र उम्मेदवार गरी १२ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने दुई बैंकरबीच हुने अनुमान गरिएको छ।
मुक्तिनाथ विकास बैंक २०६३ पुस १९ गते स्थापना हुँदा २९ जना संस्थापक सदस्यमध्ये ढकाल र गुरुङ दुवै संलग्न हुनुहुन्थ्यो। ढकालले बैंक स्थापना भएलगत्तै २०६३ देखि १२ वर्षसम्म सीईओका रूपमा काम गर्नुभएको थियो भने २०७६ देखि २०८० सम्म एक कार्यकाल अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षका रूपमा पनि काम गर्नुभएको छ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ढकाल नेपाली कांग्रेसको वित्तीय तथा सहकारी विभागको केन्द्रीय सदस्य रहनुभएको छ। पूर्व पत्रकारसमेत रहनुभएका उहाँ नेपाल पत्रकार महासंघ स्याङ्जाका संस्थापक सदस्य पनि हुनुहुन्छ।
एमालेका उम्मेदवार गुरुङ बैंकका संस्थापक सदस्य हुनुका साथै २०७२ देखि २०७४ सम्म अध्यक्ष रहनुभएको थियो। २०७४ को निर्वाचनमा क्षेत्र नं. १(क) बाट उम्मेदवार बनेपछि उहाँले बैंकको अध्यक्ष पद छोड्नुभएको थियो।
२०३६ सालमा अनेरास्ववियु (पाँचौँ) स्याङ्जाका संस्थापक अध्यक्ष रहनुभएका गुरुङ एमाले गाउँकमिटी सचिव हुँदै जिल्ला कमिटी अध्यक्ष र हाल प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको छ। प्रदेशसभामा एक कार्यकाल अनुभव बटुलिसक्नुभएका उहाँको संघीय निर्वाचनमा भने यो पहिलो प्रतिस्पर्धा हो।
अघिल्ला निर्वाचनहरूमा यस क्षेत्रमा कांग्रेस र एमालेले पालैपालो जित्दै आएका छन्। दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं. १ मा एक लाख ३० हजार ८८६ मतदाता रहेका छन्।