रमेश विश्वकर्मा
गुल्मी, फागुन २ गते। गुल्मीका तीन स्थानीय तह कार्यसम्पादनमा अब्बल बन्दै गएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यस जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहमध्ये मालिका गाउँपालिका, धुर्कोट गाउँपालिका र रेसुङ्गा नगरपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएका हुन्।
आर्थिक वर्ष २०८१–०८२ को कार्यसम्पादन मूल्याङ्कनमा मालिका गाउँपालिका देशभरका स्थानीय तहमध्ये तेस्रो र धुर्कोट गाउँपालिका चौथो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार मालिकाले ८१.९८ प्रतिशत र धुर्कोटले ८०.५२ प्रतिशत अङ्क ल्याएका छन्। देशभरका २७६ नगरपालिकामध्ये रेसुङ्गा नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा पाँचौं भएको छ। यस नगरपालिकाले ७६.७५ प्रतिशत अङ्क ल्याएको प्रारम्भिक नतिजामा उल्लेख छ।
यो नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशभरका नगरपालिकामध्ये प्रथम भएको बताइएको छ। छत्रकोट गाउँपालिकाले ७६.६५ प्रतिशत अङ्क ल्याएको हो। रुरुक्षेत्र गाउँपालिकाले ७४.०८ प्रतिशत, सत्यवती गाउँपालिकाले ६८.५८ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ६५.९७ प्रतिशत, मदाने गाउँपालिकाले ६५.७८ प्रतिशत, गुल्मीदरबार गाउँपालिकाले ६१.१२ प्रतिशत, मुसिकोट नगरपालिकाले ५९.३८ प्रतिशत अङ्क ल्याएको छ।
त्यसैगरी चन्द्रकोट गाउँपालिकाले ५६.४५ प्रतिशत र इस्मा गाउँपालिकाले ५३.६९ प्रतिशत अङ्क ल्याएको सार्वजनिक नतिजामा उल्लेख छ। प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रहेर प्रदेश तथा स्थानीय तहको लागि निर्धाण गरिएका विभिन्न १७ सूचकको आधारमा सूचकको मूल्याङ्कन गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अङ्क प्रदान हो।
स्थानीय तहले प्राप्त गरेको अङ्क चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरालोकनका लागि अनुसुची–५ को ढाँचा अनुसार निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन विभिन्न १७ वटा सूचकका आधारमा गरेको बताइएको छ।