क्यानबेरा, फागुन १ गते ।अष्ट्रेलियाका विश्वविद्यालयहरूमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षासम्बन्धी जोखिममा उल्लेखनीय वृद्धि भएको एक अध्ययनले देखाएको छ ।
अष्ट्रेलियन अनुसन्धान परिषद्को आर्थिक सहयोगमा गरिएको पछिल्लो सर्वेक्षणअनुसार उच्च शिक्षा क्षेत्रमा कार्यरत कर्मचारीहरूले अत्यधिक भावनात्मक थकान, मानसिक तनाव र सुरक्षा जोखिमको सामना गरिरहेका छन् । सर्वेक्षणमा सहभागी ८० प्रतिशतभन्दा बढी कर्मचारीले आफूहरू अत्यधिक मानसिक थकानको अवस्थामा रहेको बताएका छन् ।
जोखिमको स्तर दोब्बर
मूल्याङ्कन गरिएका ३६ विश्वविद्यालयमध्ये सबैमा अत्यन्त उच्च मनोसामाजिक जोखिम पाइएको छ । यो जोखिम अन्य सामान्य कार्यक्षेत्रको तुलनामा दोब्बरभन्दा बढी रहेको अध्ययनको निष्कर्ष छ । विशेष गरी चार्ल्स डार्विन विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय र क्वीन्सल्याण्ड विश्वविद्यालयमा जोखिमको स्तर सबैभन्दा उच्च रहेको पाइएको छ ।
सुधारका लागि सुझाव
मुख्य अनुसन्धानकर्ताले कर्मचारीहरूको मानसिक स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिवेदनमा उत्पादनमुखी व्यवस्थापन प्रणालीको सट्टा कर्मचारीको 'कल्याणमुखी' व्यवस्थापन पद्धति अपनाउन सुझाव दिइएको छ ।
अष्ट्रेलियाको कार्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कानुनअनुसार विश्वविद्यालयहरूले मनोसामाजिक जोखिमको रोकथाम र उचित व्यवस्थापन गर्न अनिवार्य जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । अध्ययनले विश्वविद्यालय स्तरमा नीतिगत र व्यवस्थापकीय सुधार गर्दै सुरक्षित कार्यस्थल सुनिश्चित गर्न जोड दिएको छ । (रासस/सिन्ह्वा)