• १ फागुन २०८२, शुक्रबार

विद्यालय भ्यान दुर्घटना छानबिन गर्न समिति गठन

blog

दुर्घटनाग्रस्त स्कुल भ्यान । तस्बिर : रामकृष्ण बोहरा

नवराज नेपाली

बागलुङ, फागुन १ गते । बागलुङ नगरपालिका–३, हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ, बागलुङका प्रमुख प्रकाशबन्धु अर्यालको संयोजकत्वमा गठित समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीनबहादुर कुँवर, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर सुरेश जैसवाल र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्मा सदस्य हुनुहुन्छ । यस्तै, पीडित पक्षका तर्फबाट प्रिया किसान र कुशल बोहरा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का तर्फबाट दल थापा सदस्य रहनुभएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सो समिति गठन गरेको हो । बैठकमा सहभागीहरूले घाइते बालबालिकाको उपचार, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था र दोषीलाई कारबाही गर्ने सहमति गरेका छन् ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट किरण तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य सात जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँहरू खतरामुक्त रहनुभएको छ । धौलागिरि अस्पतालमा उपचाररत १६ जनाको अवस्था सामान्य रहेको र केहीलाई डिस्चार्ज गरिसकिएको अस्पतालले जनाएको छ ।


बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले दुर्घटनाको कारण पत्ता लगाई पीडितलाई न्याय दिलाउन समितिलाई आग्रह गर्नुभयो । यस्तै, धौलागिरि प्रादेशिक अस्पतालका अध्यक्ष श्रीप्रसाद शर्माले सामाजिक सञ्जालमा आउने भ्रमपूर्ण सूचनाका कारण अस्पतालमा अनावश्यक भिड बढ्दा उपचारमा समस्या हुनेतर्फ सचेत गराउनुभयो ।

बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम र प्रधानाध्यापक कृष्ण अधिकारीले घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।