• १ फागुन २०८२, शुक्रबार

बागलुङ निर्वाचन

राजमो–नेकपाको तालमेल, अन्य दल एकल प्रतिस्पर्धामा

blog

बागलुङका दुई निर्वाचन क्षेत्रका प्रमुख प्रतिष्पर्धी दलका उम्मेदवार । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन १ गते । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो) ले चुनावी तालमेल गर्दा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका साना दल एकल चुनावी मैदानमा छन् । 

बागलुङ निर्वाचन क्षेत्र १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकरी र क्षेत्र नं. २ मा नेकपा ज्ञामनाथ गैरे साझा उम्मेदवार हुनुहुन्छ । तालमेल अनुसार क्षेत्र नं. १ नेकपाले जनमोर्चाका अधिकारीलाई सघाउने छ भने क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार गैरेलाई राजमोले सघाउने छ । अधिकारी र गैरे संसदीय चुनावमा नयाँ अनुहार हुनुहुन्छ ।

बागलुङ १ मा एमालेबाट हीराबहादुर केसी, कांग्रेसका भीम श्रीस र रास्वपाका सुशिल खड्का चुनावी मैदानमा हुनुहुन्छ । श्रीस र खड्का पहिलो चुनावमा होमिदा एमालेका केसी २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका हरिबहादुर खड्का र २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेसका दिपेन्द्रबहादुर थापासँग पराजित हुनुभएको थियो । 

बागलुङ १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मङ्गोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढा राना मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा चनावी मैदानमा हुनुहुन्छ । 

यस्तै, बागलुङ २ मा एमालेबाट मञ्जु शर्मा चालिसे, कांग्रेसका टेकराज पौडेल र रास्वपाबाट सोम शर्माले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । चालिसे दोस्रो पटक चुनावी मैदानमा होमिँदा कांग्रेसका पौडेल र रास्वपाका शर्मा संसदीय निर्वाचनमा नयाँ उमेदवार हुनुहुन्छ ।

२०७९ को चुनावमा बागलुङ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार डा. सूर्य पाठकलाई पराजित गर्दा राजमोका चित्रबहादुर केसी कांग्रेस, तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो । 

केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका पाठकले १८ हजार ८ सय २५ मत पाउनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलको ९ हजार १ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।  

यस्तै, बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेकपा, एमाले, कांग्रेस र रास्वपाका उम्मेदवारबिच प्रतिष्पर्धा हुने भएको छ । बागलुङ २ मा नेकपा गैरे, एमालेका चालिसे, कांग्रेसका टेकराज पौडेल र रास्वपाका शर्मा चुनावी मैदानमा हुनुहुन्छ । त्यहाँ २०७४ मा वाम गठबन्धन र २०७९ मा पाँच दलीय गठबन्धनबाट नेकपाका देवेन्द्र पौडेलले चुनाव जित्नुभएको थियो । पूर्व शिक्षामन्त्री समेत रहनुभएका पौडेल नवलपरासी पश्चिम २ बाट उम्मेदवार हुनुहुन्छ ।

२०७९ को निर्वाचनमा २४ हजार ७ सय ९४ मत ल्याएर पौडेल विजयी हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १ सय ९३ मत पाउनुभएको थियो । रास्वपाकी तिला खत्रीले २ हजार ३ सय २७ मत प्राप्त गर्नुभएको थियो । ‘‘पाँच दलीय गठनबन्धनसँग चुनाव लडेको अनुभव छ’’ चालिसेले भन्नुभयो, ‘‘यस पटक नेकपा र राजमोबिच तालमेल भए पनि ठुला दल एकल मैदानमा हुँदा जित निश्चित छ ।’’

रास्वपाका दुवै उमेदवार जेनजी आन्दोलनबाट राजनीतिमा आउनुभएको हो । दुवै जना सामाजिक सञ्जालमार्फत अभियानकर्मीको रूपमा चिनिनुहुन्छ । राप्रपाले क्षेत्र नं. १ मा कल्याणविक्रम आचार्य र क्षेत्र नं. २ मा अञ्चल शाहीलाई उम्मेदवार बनाएको छ ।

बागलुङ २ मा मङ्गोल नेसनल अर्गनाइजेसनका जुनबहादुर थापा, मानवतावादी पार्टीका टेकप्रसाद कामी, नेसनल रिपब्लिक पार्टीका नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवरले चुनावी प्रतिष्पर्धा गर्दै हुनुहुन्छ ।