• १ फागुन २०८२, शुक्रबार

धनुषा–४ मा नयाँ-पुराना अनुहार मैदानमा

blog

धनुषा–४ का उम्मेदवार महेन्द्र यादव, रघुवीर महासेठ, राजकिशोर महतो र सञ्जयकुमार महतो । तस्बिर : विजयकुमार साह

विजयकुमार साह

ढल्केबर, फागुन १ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनितिक चहलपहल पनि तीव ्ररुपमा बढेको छ । उम्मेदवारहरु चुनावी कार्यक्रमअन्तर्गत कार्यकर्ता भेटघाट, सङ्गठन निर्माण र घरदैलो अभियानमा व्यस्त छन् ।  

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक भने रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्ला दुई निर्वाचनमा निरन्तर निर्वाचित हुनुभएका नेपा कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव रघुवीर महासेठ, नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री महेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका राजकिशोर महतो नेपाली कम्युनिस्ट पार्टीका सञ्जयकुमार महतो गरी ४२ जना उम्मेदवार हुनुहुन्छ । 

यसपटक महासेठ र यादवको परम्परागत प्रतिस्पर्धामा नयाँ उम्मेदवारहरूले पनि बलियो टक्कर दिने देखिन्छ । नेपाली कम्युनिस्ट पार्टीका सञ्जयकुमार र रास्वपाका राजकिशोर नयाँ अनुहारका रूपमा मैदानमा छन् । 

एमाले नेता महासेठले मैले गरेको कामको मूल्याङ्कन जनताले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, "जहाँसम्म मैले राम्रो काम गरेको छु । जनता खुशी छन् ।" तर यसपटकको चुनावमा हामीले विकासको मुद्दालाई दोस्रो स्थानमा राख्दै पहिला राष्ट्रियता बचाउनका लागि यसपाली उम्मेदवारी दिएको बताउनुभयो । 

कांग्रेस नेता यादवले लोकतन्त्र सुदृढिकरण, विकास निर्माण र जनताको समस्या समाधानलाई आफ्नो प्राथमिकता बनाएको बताउनुभयो । उहाँले यस क्षेत्रबाट पटकपटक चुनाव जितेका नेताहरु मन्त्री बन्नु बाहेक कुनै काम नगरेको आरोप लगाउनुभयो । यस्तै, रास्वपाका उम्मेदवार महतोले बोल्नुभन्दा काम गरेर देखाउने बताउनुभयो । 

कांग्रेस नेता यादव यसअघि पनि दुई पटक यही क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । २०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनको समर्थन हुँदाहुँदै पनि उहाँ महासेठसँग पराजित हुनुभएको थियो । उक्त निर्वाचनमा महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभएको थियो । यादव जम्मा १२४ मतको झिनो मतान्तरले पराजय हुनुभएको थियो । 

त्यस निर्वाचनमा जनता ससमाजवादी पार्टीका उम्मेदवार महाजन यादव तेस्रो स्थानमा रहँदै पाँच हजार २१२ मत प्राप्त गरेका गर्नुभयो भने ‘कैँची’ छापका स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले चार हजार ३४३ मत पाउनुभएको थियो । 

२०७४ को निर्वाचनमा पनि महासेठले यादवलाई पराजित गर्नुभयो । त्यसबेला महासेठले २२ हजार ५३२ मत ल्याउँदा यादवले १९ हजार ९९१ मत प्राप्त गर्नुभएको थियो । मत अन्तर दुई हजार ५४१ थियो । तत्कालीन सङ्घीय समाजवादी फोरमका उम्मेदवार महाजन यादवले १९ हजार ६६२ मत ल्याउनुभएको थियो । 

कांग्रेसबाट निर्वाचित डा.रामवरण यादव प्रथम राष्ट्रपति बनेपछि २०६५ को संविधानसभा उपनिर्वाचनमा महासेठ धनुषा–५ बाट विजयी हुँदै संसदीय राजनीतिमा प्रवेश गर्नुभएको थियो । तर, २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उहाँले राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवसँग पराजित हुनुभयो । 

धनुषा–४ निर्वाचन क्षेत्रमा बटेश्वर गाउँपालिका र लक्ष्मीनिया गाउँपालिकाको सम्पूर्ण क्षेत्र पर्दछन । यसैगरी मिथिला नगरपालिकाको वडा नम्बर ४ बाहेक सबै वडा, क्षिरेश्वरनाथ 

नगरपालिकाको वडा ८ र ९ बाहेक सबै वडा, मिथिला विहारी नगरपालिकाको वडा १, ३, ४ र ५ बाहेक अन्य वडा तथा जनकपुरधाम उपमहानगरपालिकाका वडा ९, १३, १४, १९, २१ र २२ यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।