रजनी योगी
सुर्खेत, फागुन १ गते । विसं २०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धनसँगको प्रतिस्पर्धामा कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा नतिजाविहीन भएको नेपाली कांग्रेसले २०७९ सालमा माओवादीसहितका दलहरूसँग गठबन्धन गरेर चार सिट हात पा¥यो । आगामी फागुन २१ मा हुन लागेको निर्वाचनबाट यसअघि जितेका चार सिट जोगाउँदै नयाँ सिटमा जित निकाल्ने कसरत कांग्रेसको छ ।
अघिल्ला निर्वाचनको नतिजाका आधारमा कर्णाली प्रदेशमा कांग्रेससहित एमाले र नेपाली कम्युनिस्ट पार्टी मुख्य प्रतिस्पर्धी दल हुन् । अघिल्ला दुवै निर्वाचनको नतिजा गठबन्धनमा निर्भर रह्यो । यस पटक तीन वटै दल अलग अलग चुनाव लड्दै छन् । त्यसैले पनि कर्णालीमा दलहरूको शक्ति परीक्षण हुने भएको छ । २०७९ सालको समानुपातिक मत हेर्दा कर्णालीमा कांग्रेस दोस्रो ठुलो दल हो । पहिलो स्थानमा रहेको एमालेभन्दा केही हजार मतले मात्रै कांग्रेस पछि परेको थियो । एमालेले समानुपातिकतर्फ एक लाख ८३ हजार १३३ मत पाउँदा कांग्रेसले एक लाख ८० हजार ९०९ मत पाएको थियो । माओवादी केन्द्रले पाएको मत एक लाख ३५ हजार ४९६ र नेकपा (एकीकृत समाजवादी) को २५ हजार ५५५ मत थियो । समाजवादी अहिले माओवादीसँग एकीकरण गरेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
यस पटक दलहरू एक्लाएक्लै चुनाव लड्दा कांग्रेसलाई अघिल्लो पटक जितेका क्षेत्र जोगाउनुपर्ने चुनौती छ । उक्त चुनावमा सुर्खेतका दुई वटै क्षेत्र कांग्रेसले जितेको थियो । क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्का र क्षेत्र नं. २ बाट हृदयराम थानी निर्वाचित हुनुभएको थियो । यस पटक उहाँहरू दुवै उम्मेदवार हुनुहुन्न । नयाँ उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिएको कांग्रेसका लागि विगतको विजयी विरासत जोगाउनुपर्ने चुनौती देखिएको हो । एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना प्रतिस्पर्धीका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी पनि बलियो शक्ति बनेर उदाएको छ । त्यसैले सुर्खेतमा यस पटकको चुनावी प्रतिस्पर्धा थप रोचक हुन सक्ने आकलन भइरहेको छ । यद्यपि कांग्रेसले भने सुर्खेतका दुवै क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ । क्षेत्र नं. १ बाट पूर्णबहादुर खड्काकै सहोदर भाइ विष्णु खड्का र क्षेत्र नं. २ बाट नारायण कोइरालालाई कांग्रेसले उम्मेदवार बनाएको छ । उहाँहरू दुवै जना पहिलो पटक संसदीय चुनाव लड्दै हुनुहुन्छ । गत चुनावमा क्षेत्र नं. १ बाट कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा धेरै ३३ हजार ६०८ पाएको थियो । यो दोस्रो स्थानमा रहेको एमालेको भन्दा तीन हजार ९१ मतले बढी हो । यसअघि कांग्रेसबाट प्रदेश सभा सदस्यको उम्मेदवार भइसकेका टेकबहादुर सिंह अहिले रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । जसले कांग्रेसलाई क्षति हुन सक्ने आकलन गरिएको छ ।
सुर्खेतको क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ कांग्रेसले जिते पनि समानुपातिक मतमा एमाले अगाडि छ । अघिल्लो पटक एमालेले २५ हजार ८६ मत पाउँदा कांग्रेसले २३ हजार १० मत पाएको थियो ।
यसै गरी अघिल्लो पटक कांग्रेसले दैलेखको निर्वाचनमा क्षेत्र नं. २ पनि जितेको थियो । यो क्षेत्रबाट कांग्रेसका दिक्पाल शाही २० हजार १८३ मतसाथ विजयी हुनुभएको थियो । कांग्रेसले आगामी चुनावका लागि पनि शाहीलाई नै उम्मेदवार बनाएको छ । क्षेत्र नं. १ बाट बासना थापा उम्मेदवार हुनुहुन्छ । कांग्रेसले कर्णालीबाट जित निकाल्ने क्षेत्रका रूपमा दैलेखका दुवै क्षेत्रलाई समावेश गरेको छ । अघिल्लो चुनावको समानुपातिक मत हेर्दा दैलेखका दुवै क्षेत्रमा एमाले पहिलो दल हो ।