अमरराज नहर्की
तनहुँ, फागुन १ गते । तनहुँमा पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा बिहीबार देखिएकै साथ सुरु गरिएको यो अभियान आगामी फागुन ५ गतेसम्म सञ्चालन हुने प्रदेश स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस वर्ष जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका दुई हजार ६२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेकाले सरकारले यसको निवारणका लागि खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको हो ।
जिल्लाभरका सबै स्थानीय तहमा सञ्चालन हुने यस अभियानका लागि २९८ वटा विद्यालय र १७१ वटा खोप केन्द्र तय गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले अभियान सफल पार्न १४९ स्वास्थ्यकर्मी र १५६ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी व्यास नगरपालिकामा ७७६ जना किशोरीलाई खोप दिइनेछ । त्यस्तै, शुक्लागण्डकीमा ४६३, भिमादमा २५८, आबुँखैरेनीमा २४५ र भानु नगरपालिकामा २४४ जना किशोरी लक्षित समूहमा रहेका छन् । यसैगरी, बन्दीपुरमा १६६, म्याग्देमा १३६, देवघाटमा ११८, ऋषिङमा ११७ र घिरिङ गाउँपालिकामा १०२ जना किशोरीलाई खोप लगाउने कार्यतालिका छ ।
दैनिक औसत चार जना महिलाको यसै रोगका कारण ज्यान जाने गरेपछि सरकारले कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिने नीति लिएको हो ।