• १ फागुन २०८२, शुक्रबार

सप्तरी–३ मा बहुपक्षीय प्रतिस्पर्धा

blog

सुधा देव 

भारदह (सप्तरी), फागुन १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी क्षेत्र नं ३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।  यस क्षेत्रमा नेपाली कांग्रेसबाट दिनेशकुमार यादव, जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट सुरेन्द्र शर्मा (मधेशी), नेपाली कम्युनिस्ट पार्टीबाट अरूणकुमार साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी, नेकपा (एमाले) पार्टीबाट ताराकान्त चौधरीलगायत एक दर्जन पार्टीबाट उम्मेदवारी दिएपछि बहुपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।

एमालेका ताराकान्त र रास्वपाका अमरकान्त काका भतिजो हुनुहुन्छ । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिए पनि राजनीतिक दलबिच बहुपक्षीय प्रतिस्पर्धा हुने स्थानीय मतदाता रेखा चौधरीले बताउनुभयो ।

यस क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा ताराकान्त चौधरी एमालेबाट निर्वाचित हुनुभएको थियोे । २०७४ सालको निर्वाचनमा ताराकान्त आफ्नै साखै दाजु स्वर्गीय चन्द्रकान्त चौधरीसँग पराजित हुनुभएको थियोे । उहाँको दाजु तत्कालीन राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचित हुनुभएको थियो । 

दाजु चन्द्रकान्त २२ हजार ५८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो । भाइ ताराकान्तले ११ हजार १८८ मत प्राप्त गर्नुभएको थियोे । सोही क्षेत्रबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४०१ मत प्राप्त गरी दोस्रो स्थान प्राप्त गर्नुभएको थियोे ।

नेपाली कांग्रेसबाट यादव २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट २६ हजार १६६ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियोे । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवारी दिनुभएका ताराकान्त चौधरीले २२  हजार तीन सय मत ल्याएर दोस्रो स्थान हासिल गर्नुभएको थियोे ।

यस क्षेत्रमा चौधरी दाजुभाइ र दिनेश यादवबिच पटक पटक प्रतिस्पर्धा भइरहँदा यसपालि जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले  पनि यस क्षेत्रबाट उम्मेदवारी दिएपछि यस पटकको चुनाव पेचिलो बन्दै गएको छ । जिल्लावासीको ध्यान पनि यस निर्वाचन क्षेत्रले तानेको उक्त क्षेत्रका मतदाता चन्द्रकिशोर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रमा उपेन्द्र यादवले उम्मेदवारी दिएपछि प्रतिस्पर्धी बढेसँगै चुनाव पेचिलो बनेको छ ।

उपेन्द्र २०६४ र २०७० सालका संविधान सभा निर्वाचनमा मोरङ र सुनसरी निर्वाचित हुनुभएको थियोे । २०७४ सालमा सप्तरी क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियोे । २०७९ सालको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट डा. सिके राउतसँग पराजित हुनुभएको थियोे । त्यसपछि बारा क्षेत्र नं २ को उपनिर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

उम्मेदवार जसपा नेपालका अध्यक्ष यादवले सप्तरी २ बाट निर्वाचित भएका बेला गरेको काम अधुरो र अपुरो रहेकाले बाँकी रहेको काम पूरा गरी यस क्षेत्रसहित जिल्लाको समग्र विकासका लागि काम गर्न यस जिल्लाबाट उम्मेदवारी दिएको बताउनुभयो । 

उहाँले भन्नुुभयो, “म यसपालि पनि चुनाव जित्छु । मैले यस क्षेत्रमा मेरो प्रतिस्पर्धी भेटेको छुइनँ ।” यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा निर्वाचित हुनुभएका कांग्रेसका यादवले यस पटक पुनः उम्मेदवारी दिनुभएको छ । 

यस क्षेत्रका जनताले विश्वासका साथ अघिल्लो निर्वाचनमा आफूलाई भारी मत दिएर निर्वाचित गराए पनि आफ्नो आधा कार्यकालमै संसद् विघटन भएकाले आधा मात्र काम गर्न सकेको र आधा काम सम्पन्न गर्न पुनः यसपालि आफूलाई निर्वाचित गराउने दाबी गर्नुभयो । उपेन्द्र र दिनेश मात्र नभएर यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका उम्मेदवारले यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गर्ने बताउँदै आउनुभएको छ ।

शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका तथा राजगढ, रूपनी र विष्णुपुर गाउँपालिका गरी पाँच स्थानीय तह रहेको यस क्षेत्रमा कुल एक लाख ११ हजार ८७१ मतदाता रहेका छन् । यस क्षेत्रमा ७४ मतदान स्थल र १४४ मतदान केन्द्र रहेको छ ।