टोकियो, माघ २८ गते । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनाधिकृत पहुँच भएको पुष्टि गरेको छ । प्रारम्भिक विवरण अनुसार करिब २८ हजार प्रयोग कर्ताको व्यक्तिगत जानकारी चुहिएको हुन सक्ने अनुमान गरिएको छ ।
चुहिएको जानकारीमा प्रयोग कर्ताको नाम, इमेल ठेगाना र फोन नम्बर समावेश छ । यद्यपि, बैँक कार्ड नम्बर, पासवर्ड वा अन्य संवेदनशील विवरण चुहिएको छैन, जसले ठुलो वित्तीय क्षति हुने जोखिम कम गरेको छ । एयरलाइन्सले यस समस्याको समाधानका लागि वस्तु वितरण सेवा अस्थायी रूपमा बन्द गरेको छ ।
कम्पनीले यस घटनाले ग्राहक सेवामा असर नगर्ने र अन्य सेवा प्रणाली सुरक्षित रहेको पनि स्पष्ट पारेको छ । घटना सार्वजनिक भएपछि कम्पनीले सुरक्षा मापदण्ड कडा गर्ने, प्रणालीको कमजोरी पहिचान गर्ने र भविष्यमा यस्ता घटना नदोहोरिन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
विशेषज्ञहरूले यो घटनालाई व्यक्तिगत डेटा सुरक्षा व्यवस्थामा सुधारको आवश्यकता भएको उदाहरणका रूपमा लिएका छन् । उहाँहरूको सुझाव अनुसार प्रयोग कर्ताले आफ्ना व्यक्तिगत विवरणको सुरक्षा गर्न सतर्क रहनु आवश्यक छ । कम्पनीले प्रणालीमा थप प्राविधिक सुरक्षा उपाय लागु गर्नुपर्ने चेतावनी पनि दिइएको छ । यो घटनाले व्यक्तिगत डेटा सुरक्षित राख्न कम्पनी र प्रयोग कर्ताबिचको जिम्मेवारीलाई पुनः स्मरण गराएको छ र डिजिटल सुरक्षा सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता देखाएको छ । रासस/सिन्ह्वा