अनिल पराजुली
हेटौँडा, माघ २८ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सुशासन कायम गराउनु सबैको साझा दायित्व भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले इमानदारिता प्रत्येक व्यक्तिको आचरणमा हुनुपर्नेमा जोड दिनुभयो ।
“भ्रष्टाचार न्याय र विकासको शत्रु हो । यसले राज्यप्रतिको विश्वास कमजोर बनाउँछ,” उहाँले भन्नुभयो, “सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई उत्तरदायी, पारदर्शी र इमानदार बनाउँदै सुशासनको मेरुदण्डका रूपमा भूमिका निर्वाह गर्ने अहम् जिम्मेवारी अख्तियारको काँधमा छ । आयोग अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।”
उहाँले अख्तियारले अनुसन्धान कार्यमा थप गति लिनुपर्ने अपेक्षा सर्वसाधारणको रहेको उल्लेख गर्नुभयो । हरेक भ्रष्टाचारी कानुनी दायरामा आउनुपर्ने बताउँदै सूचना तथा प्रविधिको नवीनतम प्रयोग गरी नागरिकले निसंकोच सूचना दिन सक्ने प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सदाचार, न्याय, सुशासन र कानूनी सर्वोच्चतासम्बन्धी विषय विद्यालय शिक्षादेखि नै पाठ्यक्रममा समावेश गरिनुपर्ने उहाँको भनाइ थियो । सार्वजनिक पदमा रहेका व्यक्तिलाई समय–समयमा सुशासन र सदाचारसम्बन्धी तालिम तथा परामर्श आवश्यक रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारलाई “प्राणघातक क्यान्सर सरह” भएको टिप्पणी गर्नुभयो ।
“रोग लाग्न नदिनु नै उत्तम विकल्प हो । भ्रष्टाचाररूपी रोग फैलिन नदिन यथासक्य पहल हुनु जरुरी छ,” उहाँले भन्नुभयो । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उहाँले परिणाममुखी र जिम्मेवार अनुसन्धानमार्फत जनविश्वास जित्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, उपसभामुख अप्सरा चापागाईं, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, शिक्षाध्यक्ष प्रा. डा. दिनेशकुमार लम्साललगायतले भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका कार्यालय प्रमुख रामकृष्ण पुडासैनीले कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा सुशीलकुमार झा, प्रहरी जवान रत्नबहादुर खत्री, हल्का सवारी चालक राम घलान तथा अख्तियार सेवा र सम्मानबाट शाखा अधिकृत रमा कुँवर र प्रहरी तेजीलाल साह कानुलाई सम्मान गरिएको थियो ।