चाँदनी आचार्य
घोडाघोडी(कैलाली), माघ २८ गते । सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ । प्रदेशभरी ३० हजार ७८६ जना बालिकालाई उक्त खोप लगाइने भएको छ ।
स्वास्थ्य निर्देशानलय दिपायलका जनस्वास्थ्य निर्देशक मिनराज जोशीले यकैलालीमा १० हजार ३४३, कञ्चनपुरमा पाँचहजार ५५३, डोटीमा दुई हजार ५८३, बाजुरामा एक हजार ८०६, बझाङमा दुई हजार ४९६, अछाममा दुईहजार ५७८, डडेल्धुरामा एकहजार ५१६, दार्चुलामा एक हजार ४५८ र बैतडीमा दुईहजार ४५३ जना बालिकालाई खोप लगाइने जानकारी दिनुभयो ।
निर्देशक जोशीका अनुसार सुदूरपश्चिम भरिका विद्यालयमा गएर लगाइने खोप कार्यक्रम माघ २७ गते देखि फागुन २ गतेसम्म रहेपनि फागुन १५ गतेसम्म छुटेका बालिकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउन सकिने छ ।
एचपिभीका विभिन्न प्रकारमध्ये १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहसँगको समन्वयमा यो खोप सेवा प्रदान गरेको हो ।
यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई दिइने छ । उहाँले गत वर्ष अभियानको रुपमा चलाइएको खोप कार्यक्रममा प्रदेशभरी एकलाख ४६ हजार ६१२ जना बालिकाहरुले खोप लगाएको उल्लेख गर्नुभयो ।
निर्देशक जोशीले भन्नुभयो, “गत वर्ष ६ देखि १० कक्षासम्म पढ्ने बालिका र विद्यालय बाहिर रहेका ११ बर्षदेखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप अभियानमा जोडिएको हो । यस वर्ष लक्षित समूह कक्षा ६ मा पढ्ने बालिका र विद्यालय नजाने १० वर्षसम्मका बालिकालाइ खोप लगाइने छ ।”
यस्तै, गत वर्षको खोप कार्यक्रममा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले पनि यो खोप पाउने व्यवस्था मिलाइएको छ।
यस वर्ष सरकारले देशभर करिब चार लाख छात्रालाई खोप दिने लक्ष्य राखेको छ । पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिन खोप, स्क्रिनिङ र उपचार गरी तीन चरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ । यी हरेक चरणमा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको योजना छ ।
निर्देशक जोशीका अनुसार १० देखि १४ वर्षसम्मका किशोरीले एचपिभी खोप लगाउनु रोकथामको पहिलो उपाय हो । दोस्रो उपायका रूपमा ३० वर्षभन्दा माथिका महिलाले नियमित परीक्षण (स्क्रिनिङ) गराउनुपर्छ भने तेस्रो चरणमा रोग पहिचान भएका महिलाको उचित उपचार हुनुपर्छ ।
नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ । परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन चार महिलाको मृत्यु हुने गरेको छ।
यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणबाट हुन्छ । संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने यो भाइरसको सङ्क्रमण २० वर्षसम्म रहिरहेमा क्यान्सरको रूप लिन सक्छ ।