देवराम यादव
सप्तरी, माघ २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्था नागरिकलाई मौलिक आधारभूत सेवा प्रदान गर्न असफल भएको बताउनुभएको छ ।
राजविराजमा बुधबार प्रेस मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले घरदैलो अभियानका क्रममा शिक्षा, स्वास्थ्य र कानुनी सहायताको अवस्था अत्यन्त दयनीय रहेको प्रत्यक्ष अनुभूति गरेको बताउनुभयो ।
“जनताको घरदैलोमा जाँदा राज्यद्वारा सञ्चालित विद्यालय र अस्पतालहरू लथालिङ्ग अवस्थामा रहेको पाइयो,” उहाँले भन्नुभयो, “अर्को गम्भीर समस्या भनेको सानातिना विषयमा पनि मुद्दा लाग्ने र त्यसको प्रतिरक्षा गर्न नागरिकले ऋण लिएर जग्गाजमिन बेच्नुपर्ने अवस्था सिर्जना हुनु हो ।”
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र कानुनी सहायता राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्दै सरकारको कमजोरीका कारण सर्वसाधारणले गम्भीर समस्या भोग्नुपरेको बताउनुभयो । नागरिकले यी सेवाका लागि दरिद्र हुनुपर्ने र घरबार बेच्नुपर्ने अवस्था आउनु अत्यन्त दुःखद र चिन्ताजनक रहेको उहाँको भनाइ थियो ।
देशको आर्थिक अवस्था र राजनीतिक अस्थिरताप्रति कटाक्ष गर्दै अध्यक्ष यादवले उद्योगधन्दा धराशायी भएको र युवा रोजगारीका लागि विदेशिन बाध्य भएको दाबी गर्नुभयो । बहुदलीय व्यवस्था आएको ३५ वर्ष बितिसक्दा पनि मधेशमा आधारभूत विकास हुन नसकेको उहाँले आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमार्फत यादवले आगामी निर्वाचनका लागि आफ्ना प्रमुख एजेन्डाहरूसमेत सार्वजनिक गर्नुभयो । जसमा गुणस्तरीय र निःशुल्क शिक्षा, सामुदायिक विद्यालयको सुदृढीकरण, प्राविधिक र सीपमूलक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सरकारी अस्पतालको स्तरोन्नति, निःशुल्क कानुनी सहायता, रोजगारी सिर्जना र औद्योगिक पुनरुत्थान रहेका छन् ।
यस्तै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सङ्घीयताको सुदृढीकरण र मधेशसहित सबै क्षेत्रको समान विकासलाई आफूले प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले आफ्नो उम्मेदवारी परिवर्तन र जनअधिकारको लडाइँका लागि भएको दाबी गर्दै मतदातासँग समर्थनको अपिल गर्नुभयो ।